‘अन अराइभल भिसा’का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज

279
  •  
  •  
  •  

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरूले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’का लागि नगद रकम बोक्नुपर्ने प्रावधान खारेज भएको छ ।

विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि विद्युतीय भुक्तानी सेवामा समस्या आएको भन्दै पर्यटकहरूलाई ‘अन अराइभल भिसा’का लागि नगद २०० अमेरिकी डलर साथमा ल्याउनुपर्ने सूचना प्रकाशित गरेको थियो । उक्त सूचनाको चौतर्फी विरोध भएपछि हाललाई नगदै बोकेर आउनुपर्ने प्रावधान खारेज भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलको अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम मेसिन सोमबार जडानको काम सुरु भइसकेको र अब पर्यटकहरूले अनअराइभल भिसाका लागि नगदै बोकेर आउनुपर्ने प्रावधान हटाइएको विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

विमानस्थलले अनअराइभल भिसाका लागि नगद बोक्नुपर्ने प्रावधान हटाइएपछि नेपाल आउने विदेशी पर्यटकका लागि सहज हुने अपेक्षा लिइएको छ । विमानस्थलको अध्यागमन कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटकको सहजताका लागि भन्दै राष्ट्रिय वाणिज्य बैंकका दुईवटा एटीएम मेसिन र दुईवटा पीओएस मेसिन थप गर्न लागिएको छ ।

 


  •  
  •  
  •