पपुवा न्यूगिनी र ‌ओमानको सनसनी, आयरल्याण्ड र अफगानिस्तान पराजित

154
  •  
  •  
  •  

काठमाडौं,  ३० असार (ओएनएस) : टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा पपुवा न्यूगिनी र ओमानले सनसनीपूर्ण प्रदर्शन गरेका छन् । बुधबार भएको खेलमा प्रतियोगितामा बलिया मानिएको आयरल्याण्डलाई पपूवा न्यूगिनीले २ विकेट  र अफगानिस्तानलाई ओमानले ४० रनले पराजित गर्दै सनसनी मच्चाएका हुन् ।

कसिलो बलिङ गरेको पपुवा न्यूगिनीले आयरल्याण्डलाई ९ विकेट १२३ रनमा समेटेको थियो ।  आयरल्याण्ड कम स्कोरमा रोक्ने क्रममा पपुवा न्यू गिनीका जेभेराले ३ विकेट लिएका थिए । आयरल्याण्डका लागि कप्तान विलियम पोटरफिल्डले नटआउट ५७ रन जोडे ।

१२४ लक्ष्य पछ्याउने क्रममा केहि धर्मराएको पपुवा न्यू गिनीले ७ बल खेल्न बाँकी छदा ८ विकेटको क्षतिमा लक्ष्य पार गर्‍यो । पपुवा न्यूगिनीको लागी आठौ नम्बरका ब्याट्सम्यान नोर्मन भानुवाले १० बलमा २८ रन जोडे । उनले ३ छक्का प्रहार गरि पपुवा न्यू–गिनीलाई रोमाञ्चक जीत दिलाएका हुन् । त्यसअघि आसाद भालाले ३२ रन जोडेका थिए ।

यता ओमानले पहिले ब्याटिङ्ग गरेर ७ विकेट गुमाएर १४४ रन बनायो । उसको लागि जेसान अहमेदले २३ बलमा २९ रन जोड्दा जितेन्दर सिंहले ४० रनको योगदान गरे । जवाफि ब्याटिङ्ग गरेको अफगानिस्तान १७ ‌ओभर ५ बलमा १०४ रनमा अलआउट भयो । ओपनर मोहमद साहजादले १९ बलमा ५ चौका र १ छक्का मद्दतमा २८ रन जोड्दा जावेद अमदीले २२ रन जोडे । तर अन्य ब्याट्सम्यानले फिक्का प्रदर्शन गरे । ओमानको लागि जेसान मसुद र मेरान खानले ४–४ विकेट लिए । मेरानले १८ ओभरमा ३ विकेट चड्काएका छन् ।

जीतपछि समूह ए मा पपुवा न्यूगिनी ३ खेलबाट ५ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । हारपछि पनि आयरल्याण्ड ६ अंकसहित पहिलो स्थानमा छ । एक–एक खेल कम खेलेका नामिबिया र नेपाल ३–३ जोड्दै तेस्रो र चौथो स्थानमा छन् ।

यता समूह बीमा ७ अंक सहित अफगानिस्तान पहिलो र ओमान ६ अंकसहित दोस्रो स्थानमा छन् । ५ अंक जोडेको केन्या  तेस्रो स्थानमा  तथा ४–४ अंक जोडेका स्कटल्यान्ड र नेदरल्याणड चौथो र पाँचौ स्थानमा छन् ।

यो पनि पढ्नुहोस्  :- क्रिकेटको तराजुमा को गह्रौ, नेपाल कि हङकङ ?


  •  
  •  
  •