ओली राजनीतिबाहिर रमाउँदै

230
  •  
  •  
  •  

kp-oliकाठमाडौ, २ बैशाख : एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार निजी निवास बालकोटमा नयाँ वर्ष २०७२ को पहिलो दिन झापा आन्दोलन र आफूले राजनीति सुरु गर्दाका सहयात्री निम्त्याएर भव्य कार्यक्रम आयोजना गरे । वर्ष २०७१ को अन्तिम दिन सोमबार अपराह्न उनी संविधानका विवादित विषयमा छलफल गर्न सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले राखेको शीर्ष नेताहरुको बैठक छाडेर धरहरा चढ्न गए । नयाँ वर्षजस्तै गत फागुन १० मा निजी निवास बालकोटमा ओलीले ६४ औं जन्मदिन भव्य रुपमा मनाएका थिए ।

झापा आन्दोलनलाई स्मरण गरिएको नयाँ वर्षको कार्यक्रम राजनीतिसंग जोडिएको थियो । स्वकीय सचिव रमेश आचार्यका अनुसार त्यसक्रममा झापा आन्दोलन सुरु गर्दाका उदेश्यलाई स्मरण गरिएको थियो । ‘उहाँले नयाँ संविधान निर्माण गर्दा झापा आन्दोलनमा प्रतिविम्बित भावनालाई समेट्ने प्रतिबद्धता जनाउनुभयो,’ उनले भने ।

कार्यक्रम राजनीतिक सन्दर्भसंगमात्र जोडिएन । धादिङको खाल्टे गाविसबाट निम्त्याइएका बाहुनहरुको एक टोलीले नौमति बाजा र भक्तपुरको टोलीले धीमे बाजा बजाएर साङगीतिक माहौल सिर्जना गरेका थिए । आचार्यका अनुसार ओली आफैले दमाहा र टयाम्को बजाए, ती बाजाहरु ओलीले संग्रह गरेर घरमा राखेका छन् । बालकोटस्थित दुवै घरमा ओलीले राष्ट्रिय झण्डा झण्डोत्तलन गरे । ‘२०७२ सालभित्रै बनाइने संविधानमा राष्ट्रियतालाई जर्गेना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो,’ आचार्यले थपे ।

जन्मदिनमा जस्तै नयाँ वर्षमा पनि एमालेसहितका विभिन्न पार्टीका नेता, पेशाकर्मीको बाक्लो उपस्थिति रह्यो, बालकोटमा । निजामति संगठनका एक सयभन्दा बढीको समूहले बालकोटमै पुगेर शुभकामना आदानप्रदान गरे । चिनियाँ राजदूत ऊ चुन्थाईसमेत शुभकामना दिन बालकोट पुगेका थिए । ‘चिनियाँ राजदूतले नेपालमा छिट्टै संविधान निर्माण होस्, राजनीतिक स्थिरता र शान्ति स्थापना होस् भन्ने कामना गर्नुभयो,’ आचार्यले भने ।

धरहरा चढिसकेपछि ओलीले आगन्तुक पुस्तिकामा लेखेका छन्, ‘नेपाली समाजमा विद्यमान जातीय, भाषिक एवम् सांस्कृतिक सद्भाव धरहराजस्तै आग्लो हुँदै जानेछ । नेपालको स्वाधीनता र नेपाली मात्रको सम्मान धरहराजस्तै उचाईतर्फ अघि बढ्नेछ भन्ने विश्वास व्यक्त गर्दछु । नयाँ वर्ष नयाँ संविधान र नयाँ एवम् सम्वृद्ध नेपालको निर्माणमा ऐतिहासिक वर्ष हुनेछ ।’ तर धरहरा चढ्नकै लागि उनले संविधानका विवादित विषयमा छलफलका लागि राखिएको बैठकमा अनुपस्थित भएका थिए ।

पछिल्लो समय ओलीको सक्रियता राजनीतिभन्दा पृथक गतिविधिमा निकै बढेको छ । आफूलाई भेट्न आउने र आफू पुगेका कार्यक्रममा उनले विभिन्न व्यक्तित्वलाई नेपालको झण्डा अंकित लोगो लगाइदिने गरेका छन् । गत मार्च २८ मा उनले प्रधानमन्त्री सुशील कोइराला, एमाले नेता माधवकुमार नेपाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता बाबुराम भट्टराईलाई लोगो दिँदै र लगाइदिँदै गरेका तस्बिरहरु टि्वटरमा पोस्टिएका छन् ।

माघ ३ मा ओलीले राष्ट्रकवि माधव घिमिरे दम्पत्तीलाई निवासमा निम्त्याएका थिए । उनका कविता सुने, साहित्यिक विमर्श गरे । खासगरी एमालेको कार्यकारी प्रमुख भएयता ओली राजनीतिकभन्दा पृथक काममा सक्रियता देखाइरहेका छन् र त्यस्ता गतिविधिको प्रचार, प्रसार पनि गरिरहेका छन् । धरहरा चढ्ने, जन्मदिन, नयाँ वर्ष मनाउनेजस्ता कार्यको समाचार संकलनका लागि पार्टीले विज्ञप्तीमार्फत् सन्चारजगतलाई निमन्त्रणा नै पठाउने गरेको छ ।

नयाँ वर्ष कार्यक्रममा सहभागी हुन पुगेका झापा आन्दोलनकै एक योद्धा नेकपा मालेका अध्यक्ष चन्द्रप्रकाश मैनालीले पुराना साथीभाई भेटघाटको अवसर जुटाएकोमा ओलीलाई धन्यवाद ज्ञापन गरे । ‘धेरै पुराना साथीसंग भेटघाट भयो, परिचय नवीकरण भयो । समग्रमा कार्यक्रम राम्रै भयो,’ उनले भने । धरहरा चढ्नेजस्ता गैरराजनीतिक कार्यक्रमप्रति ओलीको बढदो रुचीबारेको प्रतिक्रियामा मैनालीले थपे, ‘एमालेभित्र आफू लोकपि्रय हुँदै गएको, आफ्नो आत्मविश्वास बढेको र देश हाक्ने गरी आफ्नो स्वास्थ्यमा सुधार आएको सन्देश दिन खोज्नुभएको होला ।’

एमालेकै उपमहासचिव घनश्याम भुसाल भने यस्ता कार्यक्रमको खासै अर्थ नभएको बताउँछन् । तपाईको अध्यक्षले राजनीतिभन्दा फरक गतिविधिमा सक्रियता देखाएर के सन्देश दिन खोज्नुभएको हो ? भन्ने जिज्ञासामा उनले भने, ‘सन्देश त मैले बुझिन तर म अध्यक्ष भएको भए यस्तो काम गर्दिनथे ।’ ओलीले टि्वटरमा नयाँ वर्षको कार्यक्रम आयोजना गरेर झापा आन्दोलनलाई स्मरण गरिएको भन्दै विभिन्न तस्बिरहरु पोस्ट गरेका छन् ।

‘के गर्नु काका योद्धामध्येका एक जना राजवंशी कामरेडले पार्टी कार्यालयको रुखमा झुण्डिएर मर्नुपर्‍यो । सम्झनामात्र के काम ?’ ओलीको तस्बिरमा शिरिषबाबु टि्वटर ह्यान्डलबाट लेखिएको प्रतिक्रिया यस्तो छ । पार्टी सरकारमा भए पनि छोरालाई जागिर नलगाइदिएपछि झापा आन्दोलनका एक योद्धा डिकेन्द्र राजवंशीले २०६७ वैशाखमा एमाले मुख्यालय बल्खुमै आत्महत्या गरेका थिए । त्यसको केही समयपछि उनका छोराले पनि आत्महत्या गरेका थिए । धरहरा चढेको तस्बिरमा पनि प्रतिक्रिया लेख्दै केहीले ‘बोकेर चढाइएको हो कि’ भनेर अविश्वास जनाएका छन् भने कतिले आलोचना गरेका छन् । एमालेकै नेता मित्रलाल बालकले पनि धरहराबाट कुदेर आत्महत्या गरेका थिए ।


  •  
  •  
  •