काठमाडौं १३ मंसिर ।
माले अध्यक्ष केपी ओलीले संघीयताकै कारण माघ ८ मा संविधान आउने नसक्ने अवस्था आयो भने त्यो काम संघीय आयोगलाई जिम्मा लगाउन सकिने विकल्प अघि सारेका छन् । माघ ८ भन्दा पछि पर्खिन नसकिने उल्लेख गर्दै सकेसम्म त्यही समय भित्रै संघीयता सहितको संविधान जारीका लागि प्रयास गर्नुपर्ने उल्लेख गरे ।
‘माघ ८ भित्रै संविधान बन्नुपर्छ, संघीयता सहितकै संविधान बन्नुपर्छ, दलहरु तोकिएकै समयमा संविधान बनाउछौ भनेर गएका हुन्’ पत्रकार महासंघको टोलीसंग शुक्रबार आफ्नै निवासमा कुरा गर्दै अध्यक्ष ओलीले भने,’यदी संघीयतामा उल्झन हुन्छ भने संघीय आयोग बनाएर पछि टुंग्याउन पनि सकिन्छ ।’ त्यस्तो आयोगले दिने सुझावलाई संविधान जारी भएपछि रुपान्तरित हुने संसदको दुई तिहाईले अनुमोदन गर्न सक्ने ओलीको तर्क थियो ।
प्रदेश बनाउदा पहाड र तराईलाई अलग अलग गर्न नसकिने र थोरै संख्यामै बनाउनुपर्ने ओलीको जोड थियो ।साम्प्रदायिक विद्धेष नफैलाउने र आर्थिक रुपमा धान्ने खालका प्रदेश निर्माणमा जोड दिनुपर्ने ओलीले यसअघि पनि बताउदै आएका छन् । काँग्रेस एमालेले हालै जारी गरेको सात प्रदेशको संयुक्त प्रस्ताव पनि पहाड र तराईका भुभागलाई मिलाइएको छ ।
अध्यक्ष ओलीले संविधान निर्माणको कार्यतालिका अनुसार काम अघि बढ्न नसके पनि अन्तिम सयमसिमा भित्र भने संविधान जारी हुनै पर्ने बताए । त्यसका लागि फास्टट्रायक शैली अपनाएर जान सकिने ओलीको भनाई थियो ‘अब कार्यतालिका पछ्याउन नसकिने अवस्था रह्यो, जनतलाई संविधान चाहिएको हो, कार्यतालिका होइन’ अध्यक्ष ओलीले भने,’त्यसैले संविधान ल्याउनका लागि आवश्यक उपाय अपनाउनुपर्छ ।’
कान्तिपुरबाट