प्रधानमन्त्रीद्धारा श्रीपेचको अवलोकन, कति छन् श्रीपेचमा जडित हिरामाेती?

784
  •  
  •  
  •  

काठमाडौं, २९ असोज (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओली साेमबार नारायणहिटी पुगेर श्रीपेचको अवलोकन गरेका छन्। बिहान साढे ११ बजे प्रधानमन्त्री ओली नारायणहिटी पुगेर श्रीपेज अवलोकन गरेका हुन्।

नेपालमा राजसंस्थाको औपचारिक अन्त्यपछि राजाले पहिरिने उक्त श्रीपेच सोकेसभित्र राखिएको छ। प्रधानमन्त्री ओलीले सोकेशभित्र राखिएको उक्त श्रीपेच अवलोकन गरेका हुन्। बुलेटप्रुफ सोकेशमा राखिएको श्रीपेच सार्वजनिक भएलगत्तै त्यसमा रहेका हीरा र मोतिजस्ता अमूल्य रत्नको परिमाण समेत सार्वजनि गरिएको छ। नारायणहिटी दरवार संग्रहालयको सुर्खेत र रूपन्देही कक्षमा राखिएको श्रीपेचमा ७ सय ३० वटा हीराका टुक्रा छन् भने मोतिका दाना १ हजार ३ सय ७२ वटा छन्। यसैगरी पन्नाको दाना ६७ वटा छन् भने १ वटा मोति–माणिक्यपनि श्रीपेचमा जडिएका छन्।

२९ कार्तिकमा सार्वजनिक रुपमा प्रदर्शनी ल्याइने राजाले लगाउने श्रीपेच, बोक्ने राजदण्ड, रानीले लगाउने टायरा लगायतका सामाग्री आजै प्रदर्शनी कक्षमा रहेको बुलेटप्रुफ शोकेसभित्र राखिँदैछ।श्रीपेच, राजदण्ड, रानीले लगाउने टायरा, एउटा झारी, चमरसहितका सामग्री बुलेटप्रुफ शोकेसभित्र आजै राख्ने कार्यक्रम छ।

राजतन्त्रसँग सम्बन्धित यी सामाग्री पूर्वराजा ज्ञानेन्द्र शाहले २९ जेठ २०६५ मा नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए। नारायणहिटीको शैलुन कक्षमा रहेका यी सामाग्री सार्वजनिक अवलोकनका लागि सुर्खेत र रूपन्देही कक्षमा राखिनेछन्। सरकारले गत जेठमा श्रीपेच प्रदर्शनीको व्यवस्था मिलाउन पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा श्रीपेच अवलोकन समिति गठन गरेको थियो।


  •  
  •  
  •