ओली र गौतमबीच चर्काचर्की

425
  •  
  •  
  •  

मदन कोइराला

काठमाडौं, २५ साउन (ओएनएस) :  सरकारको समिक्षा गर्न बोलाएको बैठकमा चर्चित डन दिनेश अधिकारी ‘चरी’ मारिएको विषयले प्रवेश पाएपछि उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम र एमाले अध्यक्ष केपी ओलीबीच चर्काचर्की भएको छ । शनिबार ओली निवास बालकोटमा एमाले पदाधिकारी र एमालेकातर्फबाट सरकारमा रहेका मन्त्रीहरूबीच सरकारबारे समिक्षा बैठक भएको थियो ।

बैठकको प्रारम्भमा नै अध्यक्ष ओलीलले धादिङ क्षेत्र नम्बर १ का पुर्व उपाध्यक्षसमेत रहेका दिनेश अधिकारी ‘चरी’ मारिएकोप्रति गृहमन्त्री गौतमप्रति असन्तुष्ट व्यक्त गरेपछि गौतम र ओलीबीच चर्काचर्का भएको थियो । स्रोतका अनुसार चरी मारिएको विषयमा गृहमन्त्रीले संसदमा दिएको जवाफप्रति अध्यक्ष ओली किनै आक्रोशित भएर प्रस्तुत भएका थिए । जवाफमा गौतमले गुण्डाहरूलाई नछाड्ने भन्दै पार्टीलाई गुण्डाहरूको आवश्यकता नभएको प्रतिक्रिया दिएका थिए ।

गौतमले चर्चित डनहरूको नाम लिँदै कसैलाई नछोड्ने चेतावनी दिएपछि ओली रन्किए । ओली गौतमले संसदमा चरी घटनाबारे दिएको अभिव्यक्तिप्रति निकै आक्रोशित थिए । ओलीले चरीलाई प्रहरीले नै इन्काउण्टरमा नभई हत्या गरेको आरोप लगाएपछि गौतमले त्यसको बचाउ गरेका थिए । ‘कुनै नेतालाई गुण्डाको आवश्यकता छ?’, गौतमको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यदि कुनै नेतालाई गुण्डाको आवश्यकता छैन भने तिनलाई किन बाँकी राख्ने ?’ गुण्डाप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका गौतमले गुण्डाविना पनि पार्टी चल्ने सक्ने बताएका थिए । ‘सुरक्षा व्यवस्थाका केही कमजोरी भयो भने गृहमन्त्रीलाइ असफल भनेर मिडियामा आउँछ’, गौतमले बैठकमा भने, ‘सुरक्षा व्यवस्था चुस्त दुरुस्त पार्दा केही इन्काउण्टर हुँदा पार्टीमा स्पष्टिकरण दिनुपर्ने ?’ गौतमले शान्ति सुरक्षा कायम राख्न आफ्नो करिअर दाउमा राखेको बताएका थिए ।

सरकारको कामको समिक्षा गर्न बोलाएको बैठकमा गुण्डाको विषयम प्रवेश गराएको भन्दै सबै पदाधिकारी ओली विरुद्ध खनिएका थिए । उनीहरूले पार्टी विचारको आधारमा चल्ने भन्दै कुनै पनि डनलाई राजनीतिक आवरणमा संरक्षण दिन नहुने बताएका थिए । बैठकमा नेता प्रदिप नेपालकी श्रीमति झुमा देवानले तिहारमा टिका लगाउने भाई चक्रे मिलनका विषयमासमेत कुरा उठेको स्रोतले जानकारी दिएको छ ।

आफूविरुद्ध वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री र सबैजसो पदाधिकारी खनिएपछि ओलीले चरीको विषयलाई विषयान्तरगरी सरकारको कामको समिक्षामा केन्द्रित गरेका थिए ।  बैठकमा सहभागी उद्योग मन्त्री कर्णबहादुर थापाले भने बैठकमा चरीको विषयले प्रवेश पाए पनि त्यसलाई लिएर कुनै विवाद नभएको दाबी गरे । ‘सामान्य विवाद त भइहाल्छ नी’ उनले भने ।

नवौं महाविधेशन अघि उपाध्यक्ष गौतम झलनाथ खनाल निकट मानिन्थे । नवौं महाधिवेशनमा अध्यक्षमा माधव नेपाल र केपी ओलीले प्यानल बनाएर उम्मेदवारी दिएपछि गौतम ओली खेमामा लागेका थिए । हाल ओली खेमाबाटै उपाध्यक्ष बनेका गौतम र ओलीको सम्बन्धमा ‘चरी’ प्रकरणले चिसोपना ल्याएको छ ।


  •  
  •  
  •