ओलीसँग दाहालको गुनासो

137
  •  
  •  
  •  

काठमाडौं, २४ जेठ (ओएनएस) : सरकारले आफूहरुसँग भएका सहमति कार्यान्वयन नगरेको भन्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले संसदीय दलका नेता केपी ओलीसँग गुनासो गरेका छन् । शनिबार बिहानै ओलीलाई भेट्न वालकोट पुगेका दाहालले सो भेटमा यस्तो गुनासो गरेको बताइएको छ ।

थायल्यान्डमा उपचारपछि हालै स्वदेश फर्किएका ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन दाहाल ओली निवास पुगेका हुन् । सो अवसरमा उनीहरुबीच संसद अवरुद्धबारे पनि छलफल भएको छ । भेटमा दाहालले सरकार एकलौटी ढंगले अगाडि बढेको र संविधानसभा निर्वाचनमा भएको ‘धाँधली’ बारे छानविन गर्न संसदीय समिति गठनमा चासो नदेखाएको भन्दै असन्तुस्टि पोखेका थिए । उनले रकमान्तर गरेर राज्यको ढृुकुटी लुटेकोसमेत आरोप लगाएका थिए । यस्तै एआईजिपी बढुवामा पनि ‘चलखेल’ भएको बताएका थिए । उनले सरकारले संसदीय समिति र सत्य निरुपण तथा मेलमिलाप आयोग नबनाएसम्म संसद चल्न नदिने बताएको पनि स्रोतले जनायो ।

जवाफमा नेता ओलीले वार्ताबाटै समस्याको समधान गर्नुपर्ने बताएका थिए । उनले आफू पनि सरकारको गतिविधिप्रति सन्तुस्ट नरहेको प्रतिक्रिया दिएका थिए । उनले सबै दल मिलेर देशलाई अगाडी बढाउनुपर्ने र त्यसका लागि आफू तयार रहेको जनाएका थिए । वजेटमा पूर्व छलफल गर्नुपर्ने भए पनि संसद लगातार अवरुद्ध हुँदै आएको छ ।


  •  
  •  
  •