‘होहल्लामै संविधान जारी हुन्छ’

149
  •  
  •  
  •  

kp-oliकाठमाडौं २७ पुस ।
नेकपा (एमाले) ले संविधानका अन्तर्वस्तुमा तीन दिनभित्र सहमति नभए बहुमतीय प्रक्रिया सुरु गर्नुपर्ने जनाएको छ।
पार्टीको धारणा सार्वजनिक गर्न शनिबार पार्टी कार्यालय, बल्खुमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबारभित्र सहमति नभए अलमल नगरी संविधान निर्माण प्रक्रिया अघि बढाउनुपर्ने प्रस्ट पारेका हुन्।

‘सहमति जुट्न नसके संविधानसभाले पुस २९ गते नै संविधान निर्माणको आवश्यक प्रक्रिया सुरु गर्नुपर्छ,’ ओलीले भने, ‘अब कुनै पनि बहानामा थप अलमल गर्नुहुन्न।’

दोस्रो संविधानसभालाई पनि पहिलो जस्तै अकर्मण्यता र असफलताको बिन्दुमा पुर्यानउने, संविधान बन्न नदिने र मुलुकलाई अराजकता, अस्थिरता र अन्योलमा धकेल्न नहुने एमालेको धारणा छ।
एमाले अध्यक्ष ओलीले प्रक्रियाको कुरा सुन्नासाथ केही राजनीतिक दल तर्सिने अवस्थामा भए पनि प्रक्रियामै गएर होहल्लाबीच नै संविधान जारी गरिने दाबी गरे। ‘अरूसँग जेसुकै होस्, मसँग सहमति हुनैपर्योम भन्ने रटान कसैले लगाउन मिल्दैन,’ ओलीले भने, ‘यस्तो अडान हुकुमी शैलीमा मात्र चल्छ। लोकतन्त्रमा चल्दैन।’

उनले कांग्रेस र एमालेसँग चुनावकै बेलादेखि नै दुई तिहाइ रहेको उल्लेख गर्दै पटकपटक गाली खाँदा पनि सहमतिका लागि प्रयास जारी राखेको बताए। ‘कहिले महेन्द्रीय शैली भनिएको छ, कहिले यथास्थितिवादी, तर पनि हामी सहमतिकै प्रयासमा छौं,’ ओलीले भने, ‘यो दुई तिहाइ जनताको मतबाट प्राप्त कानुनी हैसियत हो। त्यो नमान्ने भए चुनाव र संविधानसभा किन चाहियो?’
ओलीले संविधान संख्याकै आधारमा बन्नेसमेत स्पष्ट पारे। ‘बहुमतको सरकार भनेको के हो?’ ओलीले प्रश्न गरे, ‘पहिले पनि एमाओवादी संख्याकै आधारमा पहिलो पार्टी भएको होइन? प्रक्रियामा अघि बढेर नै संविधान बनाउने हो। दुई/चार जनाले नमाने यो देशमा संविधान नै नबनाउने? जनताका उपलब्धि संस्थागत नै नगर्ने?’

ओलीले २९ गते संवाद समितिले दिएको प्रतिवेदन निर्णयार्थ प्रस्तुत हुनुपर्ने तर्क गरे। ‘सहमति/असहमति जस्तो प्रतिवेदन आए पनि संविधानसभाले निर्णयार्थ प्रस्तुत गरेर अघि बढ्नुपर्छ,’ ओलीले भने, ‘अस्ति पनि संवाद समितिले प्रतिवेदन बहुमतका आधारमा नै निर्णय गरेर पठाएको हो। संविधानसभाले जहाँ जति चाहिन्छ, त्यहीअनुसार निर्णय गर्न सक्छ।’

ओलीले नियमअनुसार दुई तिहाइ पुर्यानउँदा बल मिच्याइँ भन्न नमिल्ने तर्कसमेत गरे। ‘नियमबमोजिम दुई तिहाइ पुर्यालउँदा केको बलमिच्याइँ?,’ ओलीले भने, ‘दुई तिहाइ पुग्दा पनि संविधान जारी गर्न दिन्नँ भन्नु सदाशयता भयो?’
उनले देशको अहित हुने कुरामा लेनदेन हुनै नसक्ने अडान राखे। ‘संविधान जारी गर्ने कुरा आलु–प्याज किनेजस्तो होइन,’ ओलीले भने, ‘प्याजको भाउ ६० हुँदा ग्राहकले ५५ मा मिलाइदेऊ न भनेजस्तो होइन। देशको हितमा भए सहमति हुन्छ। अहितमा केको गिभ एन्ड टेक? केको विन–विन? चाहिने कुरामा अघि बढ्नुपर्छ र मान्नु पनि पर्छ।’

जनताले माग्दै नमागेको जातीय संघीयता कसैले बोकेर हिँडेको उनको भनाइ थियो।
‘संविधान निर्माणका लागि आएको हो कि होहल्ला गर्न? कुस्ती खेल्न? सिठी बजाउन? बलिया भए खेल मैदानमा गए हुन्छ,’ उनले भने, ‘कहिले संविधानसभामा रगतको खोलो बग्छ भनेको छ, कहिले रक्तपात हुन्छ भनेको छ। त्यहाँ ब्लड डोनेसन गर्ने हो र! आफ्नै रगत बगाउनु छ भने फरक कुरा हो। होइन भने रगत बग्न खसी–बोका नै काट्नुपर्छ। नत्र कसलाई मारेर रगत बगाउने भनेको? जे बोले पनि हुन्छ ? संविधानसभामा त्यसो भए किन आएको त?’
उनले होहल्लाबीच पनि संविधान जारी नभए कहिल्यै नहुने बताए। ‘१०/२० जनाको होहल्ला सधैं भइरहन्छ। कि उनीहरूको मुखमा लड्डु हालिदिनुपर्यो । यता खाँदै गर्छन्, उता संविधान जारी हुन्छ,’ उनले भने।

एमाले अध्यक्ष ओलीले होहल्लाबिना संविधान जारी हुने कल्पना एमालेले नगरेको बताए। उनले देशलाई सहज अवस्थामा लैजान संविधान ल्याउन लागेको बताउँदै तत्कालीन राजा ज्ञानेन्द्रले शासन हातमा लिएजसरी संविधान जारी नहुने बताए। ‘ज्ञानेन्द्रले माघ १९ गते शासन आफ्नो हातमा लिँदा फोन, पत्रपत्रिका, रेडियो बन्द गराएर देशलाई कर्यालपच्याप पारेजस्तो होइन, संविधान बहस र छलफलबाटै जारी हुन्छ,’ उनले भने।
ओलीले संविधान जारी गर्दा मार्सल आवश्यक नपर्ने बताए। ‘जहाँ एमाले खडा छ, त्यहाँ किन चाहियो मार्सल?’ उनले भने, ‘हामी सबैलाई ठण्डा पार्छौं।’

चुनावमा हारेकाले कहीँ पनि स्पेस नपाउने उनको टिप्पणी थियो। ‘अहिले कहिलेकाहीँ सुनिन्छ, फलानो पक्षलाई स्पेस दिनुपर्योन,’ उनले भने, ‘श्रीलंकामा दुई कार्यकाल जितेका राजापाक्ष अहिले हारे। अब उनलाई के स्पेस दिने? भारतमा कांग्रेस हार्योय, अब उसलाई के स्पेस दिने?’
अहिले संविधान बन्न नदिन कांग्रेस र एमालेबीच भाँजो हाल्ने प्रयास भइरहेको उनले बताए। ‘कांग्रेस र एमालेबीच भाँजो हाल्नुपर्छ भन्नेहरू अहिले क्रियाशील छन्,’ उनले भने, ‘कांग्रेससँग गएर एमालेले लतार्योच नि तपार्इंहरूको राजनीति छैन कि क्या हो भन्ने, एमालेकहाँ गएर कांग्रेसले लतार्योा एमालेको राजनीति सकिएको हो भन्ने?’

एमाले अध्यक्ष ओलीले नौबुँदे प्रस्तावमा कांग्रेस र एमालेको मात्रै धारणा समावेश गरेको नभई अन्य दलको पनि उत्तिकै भूमिका रहेको बताए। एमालेलाई सरकारको हतार नभए पनि केपी ओलीलाई प्रधानमन्त्री बन्न हतार छ कि छैन भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘म जेलमा पर्दा पनि छुट्न हतारो नगर्ने मान्छे हुँ। मेरो ध्यान अहिले कुनै पदमा र लाभमा होइन, संविधान सफल बनाउनमा छ। पदमै ध्यान भए अरू कुरामा दृढ अडान रहँदैनथ्यो होला।’

कांग्रेस सभापति सुशील कोइरालापछि अर्को कोही त प्रधानमन्त्री अवश्य बन्ने बताउँदै माघ ८ मै संविधान जारी गर्न आफूहरूको ध्यान केन्द्रित रहेको बताए। ‘दस/बीस वर्ष सुशीलजी रहनुहोला,’ ओलीले भने, ‘त्यसपछि अर्को प्रधानमन्त्री त चाहिन्छ होला नि। तर, अहिले हामी सरकार परिवर्तन होइन, संविधान निर्माण नै भनिराखेका छौं।’

ओलीले आफू बोलिरहेका बेला मधेसवादी दलका नेता बाहिरिएर जे पायो त्यही भनेकाले उनीहरूले नै माफी माग्नुपर्ने बताए। ‘म कुरा गर्दागर्दै उहाँहरू अकारण बाहिर निस्केर उफ्रिनुुभयो,’ ओलीले भने, ‘एक जना नेताले टेलिभिजन अन्तर्वार्तामा ओली बिरामी छ जे मन लायो त्यही भन्छ, भन्नुभयो। पुत्ला जलाउनुभयो। मैले कुनै सर्त राखेको छैन। उहाँहरूले माफी माग्नुपर्छ। जाडो मौसममा पुत्ला जलाउनुभयो। आगो ताप्न राम्रै भयो होला।’

सत्तापक्षीय दलका नाताले जसले जे माग्यो त्यही पूरा गर्न नसकिने उनको भनाइ थियो। ‘कसैले हात्ती माग्छ, दिन सकिन्छ, झोला माग्छ दिन सकिन्छ, तर झोलामा हात्ती राखिदे भन्यो भने सकिँदैन,’ ओलीले भने।
नागरिकबाट


  •  
  •  
  •