काठमाडौं १३ माघ ।
संविधानसभामा प्रश्नावलीसम्बन्धी प्रस्ताव पेस हुनु ३ घण्टाअघि आइतबार शीतल निवासमा प्रमुख विपक्षी एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई उक्त प्रस्ताव रोक्नुपर्ने जिकिर गर्दै थिए । त्यतिबेलै राष्ट्रपति रामवरण यादवले एमाले अध्यक्ष केपी ओलीलाई भेट्न चाहे । मोबाइल गरे तर सम्पर्क हुन सकेन । त्यसपछि उनले उपाध्यक्ष विद्या भण्डारीसँग संक्षिप्त कुराकानी गरे ।
ओली सोमबारै उपाध्यक्ष भण्डारी, महासचिव ईश्वर पोखरेलसहित लिएर शीतल निवास पुगे । प्रश्नावलीसम्बन्धी प्रस्ताव अन्तिम समयमा रोकिन सक्ने हुँदा उनी अघिल्लो दिन शीतल निवास नगएको स्रोतहरूले बताए । उनी आइतबार निर्धारित समयमै नयाँ बानेश्वरस्थित संविधानसभा भवन पुगेका थिए ।
‘ओली जसरी पनि आइतबार प्रश्नावली प्रक्रिया अघि बढाउनुपर्ने पक्षमा थिए । उनलाई प्रधानमन्त्रीको साथ पनि थियो । तर, राष्ट्रपति प्रक्रिया बढाउनुअघि विपक्षीलाई मनाउन केही गर्न सकिन्छ कि भन्ने उपायको खोजीमा थिए,’ आइतबार दिनभरजसो ओलीको सम्पर्कमा रहेका एमालेका एक केन्द्रीय नेताले भने, ‘कुरा नमिल्ने भएपछि भेट नभएको हो ।’
दाहाल र भट्टराईले सहमतिनिम्ति आफूहरूलाई कम्तीमा ७ दिन चाहिने अडान राष्ट्रपतिसमक्ष राखेका थिए । सभाध्यक्ष सुवास नेम्वाङसँग १० दिन समय मागेका दाहालले राष्ट्रपतिसँग चाहिँ ७ दिन भनेपछि सत्तापक्षले त्यसलाई समयको बर्बादी भनेर बुझेका थिए । सभाध्यक्षलाई पनि प्रक्रिया नरोक्न सत्तापक्ष खासगरी एमाले नेता ओलीको चर्को दबाब थियो ।
नेम्वाङ स्वयंले आइतबार प्रश्नावलीको प्रक्रिया अघि बढ्ने घोषणा गरिसकेका थिए । शीतल निवास स्रोतका अनुसार विपक्षी मोर्चा सडकमा गए संविधान निर्माण अवरुद्ध हुन सक्ने भन्दै राष्ट्रपति यादवले प्रधानमन्त्री सुशील कोइराला र सभाध्यक्ष नेम्वाङलाई आइतबारै टेलिफोन गरी चिन्ता व्यक्त गरेका थिए । नेम्वाङले अन्तरिम संविधान, नियमावलीअनुसार अघि बढ्ने जवाफ दिए भने कोइरालाले केही प्रस्ट भनेनन् ।
‘राष्ट्रपतिले बोलाउँदा किन गएनन् ओली’
ओलीको सट्टा विद्याको कल ब्याक
अघिल्लो दिन किन भेट हुन सकेन भन्ने जिज्ञासामा एमाले उपाध्यक्ष भण्डारीले संविधानसभाको बैठक कार्यसूचीमा दिउँसो १ बजे राखेकाले नभ्याइएको प्रतिक्रिया दिइन् ।
‘अरू कारण होइन । समयमै बैठकमा पुग्नुपर्ने थियो,’ उनले कान्तिपुरसँग भनिन् । सोमबारको भेटमा एमाले नेताहरूले राष्ट्रपतिसमक्ष विपक्षीलाई जति समय दिए पनि सहमतिमा पुग्ने सम्भावना नदेखेको बताएका थिए । ‘सधैं सहमतिभन्दा संविधान नबन्ने स्थिति आयो । अहिले प्रक्रियाको पक्षमा ३ चौथाइभन्दा बढी सभासद भइसके । यो कुरा एमाओवादी र मधेसी मोर्चाले बुझ्नुपर्छ कि पर्दैन ?’ राष्ट्रपतिलाई आफूहरूले भनेको उल्लेख गर्दै भण्डारीले बताइन् ।
विपक्षीले अवरोध गरेपछि संविधानसभा हलमा सभाध्यक्ष नेम्वाङ स्वयंले प्रश्नावली निर्माणको प्रस्ताव पेस गरेका थिए । त्यसले सहमतिको वातावरण बिग्रने भन्दै एमाओवादी नेताहरू शीतल निवास पुगेका थिए ।
कान्तिपुरबाट