ओलम्पिक छनोटः नेपालले आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दै

381
  •  
  •  
  •  

काठमाडौं, २० चैत(ओएनएस) : ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेल आज हुँदैछ ।

आजको पहिलो खेलमा नेपालले आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । मन्दलर थिरी रंगशालामा नेपाली समयअनुसार बेलुकी ५ बजेर १५ मिनेटमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको पहिलो चरणमा यसअघिपनि म्यानमारसँग नेपालले १–१ गोलको बराबरी खेलेको थियो । आजको खेलमा पनि नेपाल यही नतिजालाई निरन्तरता दिने लक्ष्यमा छ ।

जापानमा २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबलको एसिया क्षेत्र छनोटको दोस्रो चरणअन्तर्गत समूह ‘ए’ मा नेपालसँगै आयोजक म्यानमार, इन्डोनेसिया र भारत छन् ।

दोस्रो खेलमा नेपालले भारतसँग ६ अप्रिलमा प्रतिस्पर्धा गर्ने छ । भारतलाई साफको बदला लिने लक्ष्यमा नेपाल हुनेछ । छनोटको अन्तिम खेलमा नयाँ प्रतिद्वन्द्वी इन्डोनेसियासँग नेपालको ९ अप्रिलमा प्रतिस्पर्धा हुनेछ ।

फिफा वरियतामा नेपाल १०३ स्थानमा रहेको छ भने म्यानमार ४४ स्थानमा छ ।


  •  
  •  
  •