लेलेमा खुल्ला स्थानमा दिसा गर्नेलाई १५ हजार जरिवाना

245
  •  
  •  
  •  

ललितपुर, २९ चैत (ओएनएस) : ललितपुरको लेले गाविसले खुल्ला दिसा गर्नेलाई १५ हजार रुपैंयाँसम्म जरिवाना गर्ने भएको छ । गाविसलाई आइतबार खुल्ला दिसामुक्त घोषणा गरेसँगै खुल्ला ठाउँमा दिसा गर्नेलाई ५ सय रुपैंयाँदेखि ५ हजार रुपैंयाँसम्म जरिवाना गर्ने निर्णय भएको हो ।

गाविस भवन लेलेमा भएको एक औपचारिक कार्यक्रममा सचिव नरकुमारी राईले सहभागीलाई खुल्ला ठाउँमा दिसा नगर्ने प्रतिवद्धता गराएकी छन् । सहभागी सबैले छातिमा हात राखेर खुल्ला ठाउँमा दिसा नगर्ने प्रण गरेका छन् ।

गाविसका एक हजार ८ सय २२ घरधुरीमैं शौचालय निर्माण भएर प्रयोगमा आइसकेपछि एक कार्यक्रमका बीच खुल्ला दिसामुक्त घोषणा गरिएको हो । गाविसका विभिन्न स्थानमा खुल्ला दिसा गर्नेलाई ५ सयदेखि १५ हजार रुपैंयाँसम्म जरिवाना हुने सूचना सहितका होर्डिङ बोर्ड समेत राखिएको छ ।

गाविसस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा भएको घोषणासभामा भूमिसुधार तथा व्यवस्था मन्त्री दलबहादुर रानामगर सहभागी भए । मन्त्री रानाले युवा तथा महिलाको सशक्तिकरणका कारण खुल्ला दिसामुक्त घोषणा अभियानले सार्थकता पाउँदे गरेको बताए ।

उनले देश नैं खुल्ला दिसामुक्त घोषणा गर्ने अभियानमा रहेको बताउँदै घोषणालाई प्रभावकारी कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका छन् । सरकारी निकाय तथा विभिन्न गैरसरकारी संघ संस्थाको संयुक्त पहलमा एक वर्षको प्रयासबाट गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्न सकिएको सचिव राईले बताइन् ।

उनले भनिन्, ‘वडा नम्बर ७ तीन वर्ष अघि नैं खुल्ला दिसामुक्त घोषणा भैसकेको थियो । भौगोलिक विकटता, नागरिकमा चेतनाको स्तर कमी लगायतका कारण अरु वडामा शौचालय बन्न बाँकी थियो । करिव एक वर्षको अभियानबाट गाविस घोषणा गर्न सकियो, सबैलाई धन्यवाद ।’

कार्यक्रममा शहरी वातावरण व्यवस्थापन समाज, असल छिमेकी नेपाल, जाइका अल्मुनाइज एशोसिएसन अफ नेपाल लगायतका खुल्ला दिसामुक्त अभियानमा सक्रिय संघ संस्था तथा निकायलाई कदरपत्र प्रदान गरिएको थियो । सरसफाइ अभियानका लागि पारिवापिरक तथा सामाजिक सरसफाइमा प्रतिवद्धता, धार्मिक तथा सांस्कृतिक लेलेको ऐक्यवद्धता भन्ने नारा राखिएको थियो ।

कार्यक्रम सुरु हुन अघि गाविसका ९ वटै वडाबाट बाजा गाजा सहितको र्याली निकालिएको थियो । Lele ODF Ralley


  •  
  •  
  •