दोलखा नयाँ वर्षसँगै खुल्ला दिसामुक्त घोषणा हुने

302
  •  
  •  
  •  

काठमाडौं, २९ चैत (ओएनएस) : नयाँ वर्षको सुरुवातसँगै दोलखा जिल्ला खुल्ला दिसामुक्त घोषणा हुने भएको छ । यहि चैत २४ गते घोषणा गर्ने तयारी भए पनि सबै गाविस र नगरपालिका खुल्ला दिसामुक्त नभइसकेकोले एकमहिना पछि सारिएको हो ।

जिल्लाका ४८ मध्ये ४२ गाविस खुल्ला दिसामुक्त घोषणा भैसकेको, ३ वटा घोषणाको अन्तिम तयारीमा रहेका छन् । अरु ३ गाविसका एकसय १७ घरधुरीमा शौचालय बन्न बाँकी रहेको जिल्ला विकास समिति दोलखाका सामाजिक संरक्षण अधिकृत नारायण सेढाइँले जानकारी दिए ।

उनले भने, ‘४२ गाविस खुल्ला दिसामुक्त घोषणा भैसके, लापिलाङ, मालु र पवटी गाविस घोषणाको अन्तिम तयारीमा छन् । डाँडाखर्क, घ्याङसुकाठोकर र भेड्पु गाविसमा करिब एक सय १७ घरधुरीमा शौचालय बन्न बाँकी छन् ।’

दुई नगरपालिकामध्ये भिमेश्वर नगरपालिकाका १२ घरधुरीमा बनेका शौचालयमा सेफ्टी ट्याङ्की निर्माणको क्रममा रहेको र जिरी नगरपालिकामा एकसय पचास घरधुरीमा शौचालय नभएको सामाजिक संरक्षण अधिकृत सेढाइँले बताए । उनले भने, ‘भीमेश्वर नगरपालिकाको वडा नम्बर १ र १० मा बनेका १२ घरधुरीमा शौचालयको समस्या छ । शौचालयको फोहोर सिधै ढलमा मिसिने भएकोले समस्या भएको हो । जिरीमा ३ हजार ३ सयमध्ये झण्डै दुई सय घरधुरीमा शौचालय बन्न बाँकी छ । अघिल्लो हप्ता बसेको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले बैशाख १५ भित्र बाँकी गाविस र नगरपालिका घोषणा गरिसक्ने निर्णय गरेको छ ।’

Toilet Dolakhaव्यवस्थापकीय, सामाजिक तथा प्राविधिक कारणले गर्दा निर्धारित समयमा पुरा हुन नसकेकोले एक महिना पछि सारिएको स्थानीय विकास अधिकारी तथा समितिका अध्यक्ष रेशमलाल कँडेलले बताए । उनले भने, ‘एक वर्ष अघि अर्थात गएको जेठबाट सुरु भएको अभियान अन्तिम चरणमा पुगेको छ । यसमा सबै राजनीतिक दल, राजनीतिकर्मी, राष्ट्रसेवक कर्मचारी, गाविस सचिव, सामाजिक परिचालक, स्वास्थ्यकर्मी, सरोकारवाला निकाय, सामाजिक संघ संस्था, समुदाय, शिक्षक विद्यार्थी, सञ्चारकर्मी सबैको भूमिका महत्वपूर्ण रह्यो ।’

तीन वटा गाविस मात्रै खुल्ला दिसामुक्त घोषणा भएका बेला सुरुवात गरिएको अभियानले सफलता प्राप्त गर्न लागेकोमा स्थानीय विकास अधिकारी कंडेल खुसी छन् । उनी भन्छन्, ‘शिक्षक र बिद्यार्थीले परिवर्तनको वाहक बनेर घर घरमा सन्देश पू¥याए, स्वास्थ्यकर्मी तथा स्वयंसेवीकाले मानिसको मन र मस्तिष्कमा पूगेर परिवर्तनमा उत्प्रेरणा जगाए । सामाजिक संघ, संस्था तथा स्थानीय समुहले आ-आफ्नो सञ्जाल मार्फत घरघरमा सन्देश पू¥याउनु भयो, सञ्चारकर्मीका कलम तथा सन्देशले सरसफाइमय भएर समाजमा उत्पे्ररणा छरे भने उद्योगी, व्यापारी, नागरिक समाज, प्रहरी प्रशासन लगायत सबै सरोकारवालाको भूमिकाका कारण एक वर्षभित्रै जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न सफलता मिल्यो ।’

जिल्लाले लिएको फाष्ट ट्रयाक अवधारणा अनुसार सरकारी तथा गैर सरकारी निकायको एकीकृत प्रयासमा यो सफलता प्राप्त भएको हो । विश्व सरसफाइ कोषको आर्थिक सहयोग, युएन ह्यावीट्याटको प्राविधिक सहयोगमा सेवक नेपाल र सिडीएफ दोलखाले जिल्लाका ४० गाविस र भिमेश्वर नगरपालिकामा सरसफाई प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेका छन् । ४५ हजार घरधुरी रहेको दोलखामा अभियानपछिको अवधिमा १२ हजार ८ सय भन्दाबढी घरधुरीमा नयाँ पक्की शौचालय बनेको कार्यक्रम अधिकृत रोहित शर्माले बताए ।

उनले भने, ‘हामीले कार्यक्रम सुरु गर्दा अर्थात जेठ मसान्तसम्ममा ४० गाविस र भिमेश्वर नगरपालिकाका १३ हजार १ सय २१ घरधुरीमा शौचालय नभएकोमा अहिले १२ हजार ८ सय भन्दाबढी घरधुरीमा नयाँ शौचालय बनेका छन् । बाँकी रहेको करिब ३ सय घरधुरीमा शौचालय बनेर बैशाख १५ भित्र खुल्ला दिसामुक्त घोषणा हुन्छन् ।’

जिल्लाका ९९ प्रतिशतभन्दा बढी घरधुरीमा शौचालय बनिसकेकोले १५ दिनभित्रमा बाँकी ३ गाविस र नगरपालिकाका बाँकी वडा घोषणा गरी बैशाखभित्रै जिल्लालाई घोषणा गर्न सकिने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दोलखाका इन्जिनियर सयन श्रेष्ठले बताए ।

उनले भने, ‘जिल्लाका ४५ गाविस र भिमेश्वर नगरपालिका घोषणा भैसक्यो भने हुन्छ । बाँकी ३ गाविसका एकसय घरधुरी तथा जिरीको डेढसय घरधुरीमा बैशाख पहिलोहप्ताभित्र शौचालय बनेर प्रयोगमा आइसक्छन् । बैशाख १५ भित्र गाविस र नगरपालिका खुल्ला दिसामुक्त घोषणा हुन्छन् । गैर सरकारी संघसंस्था र सरोकारवाला निकायसहितको सहयोग, सक्रियता र समन्वयका आधारमा हामी नयाँ वर्षको सुरुवातसँगै जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्छौं ।’

शतप्रतिशत घरधुरीमा शौचालय बनेर प्रयोगमा आइसकेपछि मात्रै जिल्लालाई घोषणा गर्न लागिएको हुँदा केहि समय ढिलाइ भएको इन्जिनियर सयन श्रेष्ठको भनाइ छ । ‘अरु जिल्लामा केहि घरधुरीमा शौचालय बन्न बाँकी छँदै खुल्ला दिसामुक्त घोषणा गरिएको तपाईहरुले पनि सुन्नु भएकै होला’ उनले थपे, ‘हामीले हरेक गाविस तथा नगरपालिकाका शतप्रतिशत घरधुरीमा शौचालय बनेपछि मात्रै खुल्ला दिसामुक्त घोषणा गरेका छौं । तपाईहरुले स्थलगत रुपमा अनुगमन पनि गर्न सक्नुहुन्छ ।’


  •  
  •  
  •