ओबामासँग सेल्फी लिन खोज्दा

194
  •  
  •  
  •  

अमेरिकी राष्ट्रपति बाराक ओबामासँग सेल्फी लिने हुँदा अमेरिकाका एक व्यक्तिको जागिर चट भएको छ । कन्स्ट्रक्सनसम्बन्धी काम गरेका केनेथ टेट उनी अमेरिकास्थित ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ (सिडिसी) मा वार्षिक ४२ हजार डलरको आकर्षक तलबमा सेक्युरिटी गार्डको जागिर गर्न पुगेका थिए । तर, ओबामासँग सेल्फी लिने हुँदा उनले जागिरबाट निकालिनुपरेको छ ।

सेप्टेम्बरमा उनले राष्ट्रपति बाराक ओबामासँग सेल्फी लिन खोजेपछि सुरक्षा व्यवस्था कायम गर्न गम्भीर नभएको आरोपमा आफूलाई जागिरबाट निकालिएको केनेथले गुनासो गरेका छन् । यद्यपि, आफूले सेल्फी लिन खोज्दा सुरक्षा व्यवस्थामा कुनै प्रकारको जटिलता उत्पन्न नभएको र जागिरबाट निकालेर आफूमाथि अन्याय भएको आरोप उनले लगाएका छन् । अमेरिकी पत्रिका न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उनले आफूसँग यस्तो अन्याय भएको बताएका हुन् ।

भएको के थियो ?
सात साताअघि १६ सेप्टेम्बरको दिउँसो राष्ट्रपति ओबामा सिडिसीको मुख्यालयमा इबोला महामारीसम्बन्धी ब्रिफिङ दिन पुगेका थिए । केनेथमाथि सिडिसीका उच्चपदस्थ अधिकारीलाई पूर्ण भरोसा थियो । त्यसैले बन्दुकसहित उनीहरूले केनेथलाई ओबामाका छेउमै रहने अनुमति दिए । सिकागोमा जन्मिएका अफ्रिकी मूलका अमेरिकी केनेथ ओबामाका ठूला फ्यान थिए ।

त्यस दिनको घटनाबारे केनेथले भने, ‘लिफ्टबाट माथि चढ्दै गर्दा म ओबामासँगै थिएँ । त्यतिकैमा उहाँले मेरो हालखबरबारे सोध्नुभयो । राष्ट्रपति त्यसरी मसँग बोल्दा मैले आफूलाई ज्यादै भाग्यमानी महसुस गरिरहेको थिएँ ।’

ब्रिफिङ समाप्त भएपछि ओबामा हलबाट निक्लने तयारी गर्दै थिए । उनका चारैतिर अमेरिकी गुप्तचर निकायका अधिकारी सुरक्षासम्बन्धी कारणले तैनाथ दिए । सरकारी गाडी ओबामाका लागि बाहिर राखिएको थियो ।

ओबामा आफ्नो छेउमा भएको क्षणलाई केनेथले यादगार बनाउन चाहे । उनले तत्कालै आफ्नो सेलफोन निकाले र ओबामासँग सेल्फी लिन खोजे । तर, त्यो क्षण उनका लागि साँच्चिकै यादगार बन्न पुग्यो । किनकि, यही प्रयत्न गर्दा उनले जागिरबाट निकालिनुपर्‍यो । राष्ट्रपतिसँग सेल्फी लिन खोजेर केनेथले ओबामाको सुरक्षा गम्भीरतालाई बेवास्ता गरेको गुनासो गुप्तचर निकायका अधिकारीले सिडिसीसँग गरेपछि उनलाई जागिरबाट निकालियो ।

अनुसन्धानले यस्तो देखायो
राष्ट्रपतिसँग हतियारधारी मानिसले जथाभावी सेल्फी लिन खोजेको सम्बन्धमा अनुसन्धान अघि बढाइएको छ । अनुसन्धानबाट केनेथले सिडिसीले उपलब्ध गराएको बन्दुक बोकेको देखिएको र यो आपत्तिजनक भएको निष्कर्ष निकालिएको थियो । केनेथको यस्तो कार्यबाट सेक्रेट सर्भिस प्रोटोकल उल्लंघन भएको र सुरक्षामा चुनौती सिर्जना भएको निष्कर्ष निकालिएको थियो । ओबामासँग लिफ्टमा हतियारधारी मानिसलाई रहन दिएकालगायत कारणले गुप्तचर निकायले गल्ती गरेको भन्दै विवाद भएपछि गुप्तचर विभागकी डाइरेक्टर जुलिया पियर्सनले पनि राजीनामा दिनुपरेको थियो ।

केनेथ भन्छन्, ‘अनुसन्धानअनुसार मलाई लिफ्ट ओबामासँग रहेका हतियारधारी अज्ञात व्यक्ति भनिएको छ । मलाई मेरो बोसले राष्ट्रपतिसँग रहन निर्देशन दिनुभएको थियो । यसमा मेरो केही दोष थिएन ।’ सेल्फी लिन खोज्नुलाई नै अपराध मानेर आफूमाथि कारबाही गरिएको भन्दै उनले गुनासो गरेका छन् । अहिले केनेथ बेरोजगार छन् ।


  •  
  •  
  •