भूकम्प प्रभावित १४ जिल्लामा पोषण सप्ताह

183
  •  
  •  
  •  

काठमाडौं, १३ असार (ओएनएस) :  गएको बैशाख १२ र २९ गतेको भूकम्पबाट अति प्रभावित १४ जिल्लामा आजदेखि पोषण सप्ताह सुरु भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालय, संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफ र पोषणका क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संघ संस्थाको संयुक्त आयोजनामा हप्ताभर पोषण सम्बन्धी विभिन्न कार्यक्रम गर्न लागिएको हो ।

सिन्धुपाल्चोक, गोरखा, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, रसुवा, ओखलढुंगा, मकवानपुर, सिन्धुली, रामेछाप, काठमाडौं, ललितपुर र भक्तपुरमा पोषण सप्ताह सञ्चालन भएको हो ।

यस अवधिमा गर्भवती, सुत्केरी र बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थाबारे जानकारी लिइने बालस्वास्थ्य महाशाखा अन्तर्गतको पोषण शाखा प्रमुख गिरिराज सुवेदीले जानकारी दिए । उनले भने, ‘भूकम्प अति प्रभावित १४ जिल्लाका बालबालिका तथा गर्भवती र सुत्केरी महिला कुपोषित हुन नदिने लक्ष्यका साथ सप्ताह सुरु भएको छ ।

यस अवधिमा ती जिल्लाका गर्भवती, सुत्केरी र बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थाबारे जानकारी लिइनेछ ।’ साथै गर्भवती र महिलाका लागि आइरन चक्की, फोलिक एसिड चक्की वितरण तथा मातृ पोषण परामर्श समेत गरिने उनले बताए ।

‘सप्ताह अन्तर्गत ६ महिनादेखि ५ वर्षसम्मका सबै बालबालिकाको पाखुराको नाप लिइनेछ ।’ सुवेदीले भने, ‘बालबालिकाको पोषण अवस्था थाहा पाउन पाखुराको नाप लिन लागिएको हो ।’ अभियानका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वंयसेविकालाई भूकम्प प्रभावित जिल्लाका गाउँटोलमा खटाइ सकिएको बालस्वास्थ्य महाशाखाले जनाएको छ ।

‘प्रभावित जिल्लामा स्वास्थ्यकर्मी र स्वयंसेविकाले ५ वर्ष मुनिका बालबालिकामा कुपोषण छ, छैन भन्नेबारे अनुगमन गर्नेछन् भने कुपोषण पाइएमा उपचार र आवश्यक औषधी वितरण गर्नेछन् ।’ पोषण शाखा प्रमुख गिरिराज सुवेदीले बताए ।

पोषण सप्ताहमा ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्ष मुनीका बालबालिकालाई जुकाको औषधी पनि खुवाईने कार्यक्रम छ । पोषण सप्ताहपछि भूकम्प अति प्रभावित १४ जिल्लाका बालबालिका तथा गर्भवती र सुत्केरी महिलाको पोषणस्तरमा सुधार आउने अपेक्षा गरिएको युनिसेफले जनाएको छ ।


  •  
  •  
  •