काठमाडौँ, २५ भदौ : आन्दोलनरत नेपाल टेलिकमका प्राविधिक कर्मचारीहरुलाई ईन्जिनियर्स एशोसियशनले साथ दिने भएको छ ।
गत भदौ १९ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपाल टेलिकमको प्रमुख कार्यकारीमा बुद्धिप्रसाद आचार्यलाई नियूक्त गरेको विरोधमा आन्दोलनमा उत्रिएका कर्मचारी समूहलाई एशोसियशनले पूर्ण रुपमा सहयोग गर्ने घोषणा गरेको छ ।
बुधबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा नेपाल ईन्जिनियर्स एशोयिशनका अध्यक्ष ध्रुब थापाले टेलिकमकका कर्मचारीद्धारा जारी आन्दोलनमा देशभरिकै १६ हजार भन्दा बढी ईन्जिनियर्सहरुको साथ र समर्थन रहेको बताएका छन् ।
थापाले आन्दोलन अत्यन्तै जायज मागका साथ अघि बढेको बताए । साथै आगामी दिनमा आन्दोलनलाई थप सशक्त बनाउन आफूहरुले जस्तोसुकै भूमिका निवार्ह गर्न पनि तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुगतरत्न कंशकार, दुर सञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भेषराज कँडेल, पुर्व डीन प्रा.डा. भरतराज पहाडी, प्रगतिशील तथा पेशागत ईन्जिनियर्श एशोसियशनका अध्यक्ष ई. शम्भु बहादुर श्रेष्ठ, नेपाल ईन्जिनियर्श एशोसियशनका निवर्तमान अध्यक्ष ई. महेन्द्र बहादुर गुरुङ्, नेपाल टेलिकमका पूर्व नायब महाप्रबन्धक निर्देशक भगतमानसिंह प्रधानलगायतको उपस्थिती थियो ।