नेविसंघको महाधिवेशन स्थगित गरिएको विरोधमा बालुवाटार घेर्ने तयारी

114
  •  
  •  
  •  

काठमाडौं, २६ जेठ (ओएनएस) । यही जेठ २९, ३० र ३१ गतेका लागि तोकिएकोे नेविसंघको महाधिवेशन मातृ पार्टी नेपाली कांग्रेसले चौथो पटक स्थगित गरेपछि महाधिवेशन पक्षधर नेविसंघका नेता तथा कार्यकर्ताहरूले यथाशिघ्र महाधिवेशनको माँग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेका छन् ।

सोमबार उनीहरुले पत्रकार सम्मेलनमाफर्त आन्दोलनको घोषणा गरेका हुन् । नेविसंघका पूर्वउपाध्यक्ष नैनसिंह महरले आठ वर्षदेखि पटक–पटक तोकिएको महाधिवेशन पार्टीको मुल नेतृत्वले चाहेको व्यक्ति नेतृत्वमा आउन नसक्ने भएका कारण महाधिवेशन रोकिँदै आएको बताउँदै आगामी एक हप्ताभित्रै महाधिवेशनको तिथि–मिति तय गरि महाधिवेशनको सुनिश्चितता नगरिए असारको पहिलो हप्ताबाट देशव्यापी रुपमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

साक्षात्कार कार्यक्रममा बोल्दै महरले भने, ‘पार्टी सभापति नै प्रधानमन्त्री पनि भएकाले महाधिवेशनको नयाँ तिथि–मिति घोषणा गर्नका लागि दबाब दिन बालुवाटार र पार्टी केन्द्रिय कार्यालय अनिश्चित कालका लागि घेराबन्द लगायतका कार्यक्रम गर्न देश भरिबाट असारको पहिलो साता हजारौं कार्यकर्ताहरू राजधानी भित्रिँदै छन्, ।’ उनले थपे, ‘नयाँ नेतृत्व विकासका लागि र युवाको काँग्रेस बनाउन नर्सरीका रुपमा रहेको नेविसंघको महाधिवेशन अहिलेको आवाश्यकता भएकोले पनि समयमै महाधिवेशन हुनपर्छ ।’
नेविसंघका केन्द्रिय अध्यक्ष एवम सभासद रन्जित कर्णले महाधिवेशन आन्तरिक तयारीको अभावका कारण स्थगित् भएको भन्दै आगामी एक हप्ताभित्रै महाधिवेशनको नयाँ मिति घोषणा हुने विश्वास व्यक्त गरे ।

कर्णले महाधिवेशन विधि र प्रक्रिया अनुसार गर्नुपर्ने हुँदा र प्रक्रियामा केहि ढिलासुस्ती देखिँदा समय अभावका कारण स्थगित् गर्नुपरेको धारणा राखे । हालसम्म महाधिवेशनका लागि ५८ जिल्लामा जिल्ला अधिवेशन सकिएको भन्दै केहि दिनमै महाधिवेशनको नयाँ मिति घोषणा हुनेमा आफू विश्वस्त रहेको बताए ।
कर्णले भने, ‘हामीले महाधिवेशन गर्नकै लागि मेचि–महाकाली अभियान नै चलाएका हौं, सवै जिल्लामा व्यापक तयारी भैरहेको अवस्थामा महाधिवेशन स्थगित् हुँदा सवैमा चिन्ता हुनु स्वभाविक हो । उनले थपे–महाधिवेशन भनेको नेतृत्व चयनमात्र होईन यो त विचारको नयाँ बहस गर्ने र संगठन सुदृढ गर्ने पर्व हो त्यसैले यसमा सन्तुष्ट र असन्तुष्ट दुवै हुनुपनि स्वभाविक हो ।’


  •  
  •  
  •