नेविसंघको महाधिवेशन असार पहिलो साता गर्ने तयारी

187
  •  
  •  
  •  

काठमाडौँ, १९ बैशाख(ओएनएस) : नेपाल विद्यार्थी संघ(नेविसंघ)को महाधिवेशन आगामी असार पहिलो साता हुने भएको छ ।

व्यवस्थापिका–संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका अध्यक्ष रञ्जित कर्णले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर असार पहिलो साता महाधिवेशन गर्ने तयारी थालेको जानकारी दिएका छन् ।

नेता देउवाले पार्टीको प्रतिष्ठासँग गाँसिएकाले संघको महाधिवेशन यथाशीघ्र गर्न निर्देशन दिएका छन् । आगामी १० दिनभित्र संघको केन्द्रीय समितिको बैठक गरेर महाधिवेशनको मितिका सम्बन्धमा निर्णय गरिने कर्णले देउवालाई जानकारी गराएको भेटमा उपस्थित संघका नेता ऋषिकेशजङग शाहले बताए ।

सभापति देउवाले आजै संघ हेर्ने निर्देशक समितिको संयोजकको जिम्मेवारी डा. प्रकाशशरण महतलाई दिएका छन् ।

यसअघि पार्टीको पहिलो बैठकले महाधिवेशन हुन बाँकी भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन छ महिनाभित्र गर्न निर्देशन दिएको थियो । पार्टीको निर्देशनपछि भ्रातृ संस्था नेपाल तरुण दल र नेपाल महिला सङ्घले भदौमा महाधिवेशन गर्ने निर्णय गरिसकेका छन् ।


  •  
  •  
  •