नेबिसंघको महाधिवेशन फेरि सर्‍यो

129
  •  
  •  
  •  

nsuकाठमाडौं, २७ कात्तिक (ओएनएस) : आठ बर्षदेखि हुन नसकेको नेपाल विद्यार्थी संघको महाधिवेशन फेरि स्थगित भएको छ ।

माउ पार्टी नेपाली काँग्रेसको बिहिबार बसेको पदाधिकारी बैठकले महाधिवेशन अनिश्चित कालको लागि स्थगित गर्ने निर्णय गरेको हो । नेबिसंघको महाधिवेशन स्थगित भएको यो छैटो पटक हो ।

आउदो आइतबारदेखि कीर्तिपुरमा हुने भनिएको महाधिवेशन आसन्न सार्क सम्मेलनको कारण देखाउँदै स्थगित गरिएको काँग्रेसले जनाएको छ । साथै काँग्रेसले महाधिवेशनको लागि गर्नु पर्ने तयारी पुरा नगरेकाले स्थागित गर्नु परेको अर्काे कारण भनेको छ ।

यसअघि महाधिवेशनको मिति तोक्न माग गर्दै नेविसंघका नेताहरु कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अनसन बसेका थिए । नेबिसंघले २०६३ सालमा १० औं राष्ट्रिय महाधिवेशन गरे यता महाधिवेशन गर्न सकेको छैन ।

पार्टी पदाधिकारीको बैठकले अर्काे मति तोक्नेगरी अघिवेशन स्थगित गर्ने निर्णय गरेको नेबिसंघका प्रवक्ता यूपी लामिछानेले टेलिफोनमा ओएनएसलाई जानकारी दिए ।

यसैबीच नेबिसंघका नेताहरुले पार्टीले महाधिवेशन स्थगित गरेको भन्दै तीब्र असन्तुष्टि जनाएका छन् । उनीहरुले पार्टीले नेबिसंघमाथि अनावश्यक हस्तक्षेप गर्दै अप्रजातान्त्रिक बाटोमा डो¥याएको आरोप लगाएका छन् ।


  •  
  •  
  •