विष्टलाई सदस्यसचिव नियुक्त गरेपछि खेलकुद मन्त्रीको पद धरापमा

145
  •  
  •  
  •  

काठमाडौं , ११ असार (ओएनएस) :  खेलकुद मन्त्रालयको कारबाहीमा परेका केशव विष्टलाई राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा नियुक्त गरेपछि खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको पद धरापमा परेको छ ।

keshav bista
सदस्यसचिव नियुक्त भएपछि खेलकुद परिषदमा प्रवेश गर्दै केशव विष्ट ।

गत वर्ष दक्षिण कोरियामा भएको एसियाली खेलकुदको दौरान खेलाडी भागाउन भूमिका खेलेको भन्दै विष्टलाई एक वर्षसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन प्रतिबन्ध लगाइएको थियो । उक्त प्रतिबन्ध खेलकुद मन्त्री पौडेलको संयोजकत्वमा बनेको समितिले लगाएको थियो ।

पार्टीको स्पष्टीकरण

विवादित व्यक्तिलाई सदस्य सचिवमा नियुक्त गरेपछि एमालेले मन्त्री पौडेललाई स्पष्टीकरण साधेको छ ।

शुक्रबार विहान एमाले अध्यक्ष सहित महासचिवले पौडेललाई पार्टीको सल्लाहबिना विवादित ब्यक्त्तिलाई सदस्यसचिव बनाएको भन्दै स्पष्टीकरण सोधिएको एमालेका एक नेताले ओएनएसलाई जानकारी दिए ।

मन्त्री पौडेललाई सदस्यसचिव विष्टलाई हटाउन वा मन्त्रीबाट राजीनामा दिन एमाले नेतृत्वले भनेको छ । नेतृत्वले कडा स्पष्टीकरण लिएपछि मन्त्री पौडेलले निर्णयका लागि केहि समय चाहिने भन्दै हिडेका थिए ।

अाफूले कारबाही गरेका व्यक्तिलाई अाफैले पुरस्कार

एसियाडमा विष्ट सेपाकटाक्रोका व्यवस्थापक भएर गएका थिए । प्रतियोगिताको दौरान सेपाकटाक्रोका अमन पोडे उतै भागेका थिए। त्यसपछि एसियाली खेलकुद प्रतियोगिता कार्यसम्पादन समितिले  खेलाडी र व्यवस्थापकलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

उक्त समितिको संयोजक मन्त्री पौडेल थिए । भागेका चार खेलाडीलाई १० बर्षको प्रतिबन्ध लगाइएको थियो ।  खेलाडी भाग्ने तीन खेलका ५ प्रशिक्षक र विष्ट सहितका तीन व्यवस्थापकलाई एक वर्ष वैदेशिक खेलकुद गतिविधिमा काम गर्न नपाउने गरी निलम्बन गरेको थियो।

एमाले भातृ संगठनको विराेध 

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट पौडेल खेलकुद मन्त्री हुनुअघि एमालेको भातृ संघठन नेपाल खेलकुद महासंघका अध्यक्ष थिए । मन्त्री बनेपछि विष्टलाई महासंघको कार्यवहाक अध्यको जिम्मेवारी दिइएको थियो ।

यता नेपाल खेलकुद महासंघको महासचिव लामा टेण्डि शेर्पाले विष्टलाई सदस्य सचिवमा नियुक्त गरिएकोमा विरोध जनाएका छन् । लामाले शुक्रबार समाजिक सञ्जाल फेसबुक मार्फत खेलकुद महासंघले सिफारिश गर्दा पनि आफूलाई सदस्यसचिव नबनाएको भन्दै लेखेका छन् संगठनको मनोभावना विरूद्ध जुन अप्रिय निर्णय वर्तमान खेलकुदमंत्री पुरूषोत्तम पौडेलद्वारा भएको छ त्यस्को विरूद्ध पनि खेद पर्कट गर्न चाहन्छु ।

साथै लामाले यसअघि निमित सदस्य सचिवमा नियुक्त भएकी सकुन्तला नगरकोटीलाई जानकारी नदिइ विष्टलाई नियुक्त गरेकोमा अपमान भएको पनि उल्लेख गरेका छन् ।tendi

विवाद अन्त्य  गर्ने घोषणा गरेका विष्ट आफै विवादमा

यसअघि मन्त्री पौडेलले विष्टलाई बिहिबार परिषद्को सदस्यसचिवमा नियुक्त गरेका थिए । बिहीबारै सदस्य–सचिव विष्टले त्रिपुरेश्वरस्थित कार्यकक्षमा पद वहाली गरेका थिए ।

पदवहाली पछि विष्टले आफ्नो कार्यकाललाई स्वर्णिम बनाउन खेलकुदमा देखिएको विवाद अन्त्य गर्दै अगाडि बढ्ने बताउदै चाँडै आफ्नो टिमसंग छलफल गरी चार वर्षे कार्यकालमा गर्ने कामहरुको स्वेतपत्र जारी गर्ने घोषणा गरेका थिए । विवाद अन्त्य गर्ने घोषणा गरेका विष्ट नियुक्त भएको दोस्रो दिनमै अाफै विवादित बनेका छन् ।

२०३६ सालको विद्यार्थी आन्दोलनदेखि राजनीतिमा होमिएका विष्ट नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा छन् । खेलकुदसंग पुरानो नाता रहेका विष्ट २०५४ सालमा सुनसरी जिल्ला खेलकुद विकास समितिको उपाध्यक्ष भएका थिए । त्यसपछि २०६४ सालमा विष्ट पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्ष बनेका थिए ।

विष्ट २०५९ देखि ६२ सालसम्म इटहरी नगर कमिटीका प्रमुख तथा २०६२ देखि ६८ सालसम्म सुनसरी जिल्ला कमिटीका सदस्य थिए । विष्ट २०६८ सालदेखि हालसम्म राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य छन् ।


  •  
  •  
  •