सम्वाद समितिको विकल्पको खोजीमा कांग्रेस-एमाले

377
  •  
  •  
  •  

NC-UMLकाठमाडौ, ७ पुस(ओएनएस) : नेपाली कांग्रेस र नेकपा एमाले डा. बाबुराम भट्टराई नेतृत्वको राजनीतिक सम्वाद तथा सहमति समितिको विकल्पको खोजीमा लागेका छन् । सम्वाद समितिमा प्रतिवेदन फर्काउँदा संविधान निर्माण प्रक्रिया ढिलो हुने सम्भावना बढेपछि दुई दल भट्टराई समितिको विकल्पमा संविधानसभाभित्रै अर्को सयन्त्र बनाउने निस्कर्षमा पुगेका हुन् ।

कांग्रेस-एमालेले सोमबार एमाओवादी र मधेसवादी दलहरूसँग छलफल गर्ने भएका छन् । एमाले उपाध्यक्ष भीम रावलले सम्वाद समिति असफल भइसकेको बताउँदै विवादहरू पुनः सम्वाद समितिमा नै फर्काउँदा संविधान निर्माणका लागि ढिलो हुने निष्कर्षसहित संविधानसभाभित्रै अर्को संयन्त्रबारे छलफल भएको बताए । ‘अब रातदिन काम सक्ने गरि छोटो बाटोमा गएनौ भने संविधान सम्भव छैन’ रावलले ओएनएससँग भने ‘जतिसक्दो छिटो संविधान बनाउन संविधानसभाभित्रै सयन्त्र बनाएर त्यसलाई जिम्मा दिदा राम्रो हुने विषयमा प्रस्ताव आएको छ ।’ उनले यी बैठकहरूमा संविधानसभाका सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पनि सहभागी गराइने छ ।

एमाओवादीले भने भट्टराई समितिको विकल्पमा नयाँ सयन्त्र अस्वीकार गरेको छ । नयाँ सयन्त्र बनाएर जाने विषयमा छलफल समेत नगर्ने उसको तर्क छ । एमाओवादी प्रवक्ता दीनानाथ शर्माले भएका संयन्त्रमा छलफल नगरि नयाँ संयन्त्रमा जानु कुरा गलत भएको बताए । उनले एमाओवादीले अब संविधानसभाभित्र या बाहिर नयाँ संयन्त्र स्विकार नगर्ने बताए ।

संविधानसभाभित्र निर्माण गरिने नयाँ संयन्त्रलाई उच्चस्तरीय राजनीतिक सयन्त्रको विस्तारित रुपमा लैजानुपर्ने र सबै दलको सहभागिता हुनुपर्ने दुईदलको एकमत छ ।


  •  
  •  
  •