काठमाडौँ, २४ माघ(ओएनएस) : गत असोजबाट सुरु भएको नाकाबन्दीका कारण नेपालका अस्पतालहरुमा जीवनरक्षक औषधिको अभाव भएपछि गैरआवासीय नेपाली संघले करिव १ करोड ६० लाख रुपैयांको बराबरको औषधि र औषधिजन्य सामाग्रीहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
संघका अध्यक्ष शेष घलेले त्यस अन्र्तगत अन्तिम लटको औषधिजन्य सामाग्री माननीय उपप्रधानमन्त्री तथा परराष्ट्र एवं स्थानीय विकासमन्त्री कमल थापाललाई आज विधिवत रुपमा हस्तान्तरण गरेका छन् । यसमा अष्ट्रेलिया र चीनबाट प्राप्त झण्डै ५५ लाख बराबरको औषधी र औषधीजन्य सामाग्रीहरु रहेका छन् ।
यसका लागि अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुको सहयोगमा ३१ हजार ७ सय ७४ (हवाई ढुवानी भाडा सहितको मूल्य) बराबर र चीनबाट ६ हजार ६ सय २३ अमेरीकन डलर (हवाई खर्च बाहेक) बराबरको औषधीजन्य सामग्रीहरु प्राप्त भएको हो ।
पहिलो, दोस्रो र तेस्रो चरणमा गरी करिब १ करोड पाँच लाखको औषधि हस्तान्तरण गरेको संघले थप करिब ५५ लाख रुपैयाँको सामाग्रीहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । विश्वभर छरिएर रहेका नेपालीहरुको सहयोगमा संकलित रकमबाट विभिन्न देशमा औषधि खरिद गरी हवाई मार्गबाट नेपाल भित्राई संघले नेपाल सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखा र जनकपुर, नारायणी तथा वुटवल अञ्चल अस्पतालहरुलाई ती औषधि उपलब्ध गराएको थियो । अञ्चल अस्पताहरुमा ती औषधीहरु नेपाली सेनाले निस्शुल्क ढुवानी गरिदिएको थियो ।
पहिलो चरणमा मंसिर ८ गते ३८ लाख मूल्य बराबरको जीवन रक्षक औषधीहरु संघका अध्यक्ष शेष घलेले स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरीलाई हस्तान्तरण गरेका थिए ।
दोश्रो चरण मंसीर १४ गते संघले जनकपुर, नारायणी र बुटबलका क्षेत्रीय अस्पतालहरुलाई २५ लाख ७४ हजार रुपैयांको औषधि हस्तान्तरण गराएको थियो । मन्त्रालय संगको सहमति र नेपाली सेनाको सहयोगमा संघले तीनवटै अस्पताललाई सम्बन्धित स्थानमै पुगेर औषधि हस्तान्तरण गरेको थियो ।
तेश्रो चरणमा संघले ५० लाख १८ हजार रुपैयां बराबरको औषधि स्वास्थ्य राज्यमन्त्री मो. मुस्ताक आलम मार्फत नेपाल सरकार स्वास्थ मन्त्रालय औषधी विभाग आपूर्ति महाशाखालाई हस्तान्तरण गरेको थियो ।
करिब तीन करोडको औषधि दिने योजना रहेको भए पनि अस्पताल र सरकारसँगको छलफलपछि अन्य दातृ निकायले समेत अत्यावश्यक औषधिहरु सहयोग गरिरहेको हुँदा आवश्यक परेको खण्डमा फेरि सहयोग गर्ने योजनाअनुसार यो चौथो चरणको अष्ट्रेलिया तथा चीनबाट प्राप्त अति आवश्यक औषधी तथा औषधीजन्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।