एनआरएन भवनका लागि युरोपबाट १ करोड ५ लाख सहयोग

374
  •  
  •  
  •  

काठमाडौं २३ पुस (ओएनएस) : गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को काठमाडौमा बन्न लागेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि युरोपका ४ देशमा बसोबास गरिरहेका गैरआवासीय नेपालीहरुले १ करोड ५ लाख रुपैयाँ संकलन गरेका छन् ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको उपस्थिततिमा डिसेम्बर अन्तिम साता जर्मनी, बेल्जियम र स्वीटजरल्याण्डमा आयोजित कार्यक्रममा सो रकम संकलन भएको हो ।

जर्मनीको फ्याङ्कर्फटमा आयोजित कार्यक्रममा सो क्षेत्रमा बसोबासगर्ने गैरआवासीय नेपालीहरुले ४६ लाख रुपैयाँ संकलन गरे । यसैगरि बेल्जियममा आयोजित कार्यक्रममा ४३ लाख रुपैयाँ संकलन भएको फण्ड रेइजिङ कमिटि युरोपकी संयोजक जानकारी गुरुङले जानकारी दिए । सोही कार्यक्रममा नेदरल्याण्डका एनआरएन प्रतिनिधिहरुले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

यसैगरि स्वीटरल्याण्डको जेनेभामा आयोजित कार्यक्रममा ६ लाख रुपैयाँ संकलन भएको छ । एनआरएन अध्यक्षको यसपटकको युरोप भ्रमणका दौरान तीनवटा शहरमा आयोजितकार्यक्रमबाट कुल १ करोड ५ लाख रुपैयाँ भवन निर्माणका लागि सहयोग जुटेको गुरुङले जानकारी दिए ।

गैरआवासीय नेपाली संघले करिव १५ करोड रुपैयाँ लागतमा काठमाण्डौमा आफ्नै कार्यालय भवन निर्माण गर्ने योजना बनाएको छ । जसका लागि अध्यक्ष घलेले बिश्वभर छरिएर रहेका गैरआवासीय नेपालीको भावनात्मक एकताको प्रतिकस्वरुप सवैको सहभागीता हुने गरी रकम संकलन अभियान संचालन गरिरका छन् ।

‘यसपटक युरोपमा हामीले अपेक्षा गरेभन्दा निकै उत्साहजनक सहभागीता रह्यो’ अध्यक्ष घलेले भने ‘एनआरएनको आफ्नै भवन बनाउनेअभियानमा युरोपबासी नेपालीको ऐक्यबद्धता र हातेमालोप्रति म आभारी छु ।’

अभियानमा अष्ट्रेलिया, अमेरिका, हङकङ, चीन, थाइल्याण्ड लागयतका मुलुकले सक्रियता सहभागीता जनाइसकेका छन भने युरोपका चारवटा मुलुकले पनि अध्यक्षको समुपस्थीतिमा रकम संकलन कार्यक्रम सम्पन्न भएको छ ।

गैरआवासीय नेपाली संघले छिटै काठमाण्डौमा एनआरएन भवन निर्माण थाल्ने योजना बनाइरहेको छ ।


  •  
  •  
  •