पुनःनिर्माणमा सहकार्यबारे एनआरएनए र नेपाली सेनाबीच छलफल

393
  •  
  •  
  •  

NRN and Nepal Armyकाठमाडौँ, १२ असोज(ओएनएस) : गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नवनियुक्त प्रधानसेनापति राजेन्द्र क्षेत्रीसहित नेपाली सेनाका उचस्थ पदाधिकारीहरुसँग भेट गरी भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण हुन सक्ने सहकार्यबारे छलफल गरेका छन् ।

छलफलका क्रममा अध्यक्ष घलेले प्रथम चरणको भूकम्प पीडितहरुलाई राहत वितरण कार्यमा नेपाली सेनाले संघलाई पुर्‍याएको सहयोग र योगदानको प्रशंसा गर्दै सेनाको कार्यकुशलताबाट आफू निकै प्रभावित भएको बताए । उनले नेपाली सेनाले नेपालको पुननिर्माणमा अहंम र महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए ।

समय समयमा मातृभूमीमा आइपर्ने विपत्तिहरूको लागि संघले संधै विश्वभरका नेपालीहरुबाट सहयोग संकलन गरी पीडितहरुको उद्धार र सहयोग गरिरहेकोमा यस्ता कार्य अझ प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्न र पीडित समुदायसम्म समयमै न्यून लागतमा राहत पुराउन सक्ने माध्यम नेपाली सेना हुन सक्नेमा आफू निकै आशावादी रहेको अध्यक्ष घलेले बताए ।

भूकम्पले ल्याएको विपत्तिको सामना गर्न भएका सहकार्यबाट संघ र नेपाली सेनाको समन्वयबाट राष्ट्रलाई आईपर्ने दैवी वा प्राकृतिक विपत्तिका समयमा उद्धार गर्न सक्ने समयन्त्रको विकास गर्न सकिने अवगत गराउँदै अध्यक्ष घलेले सहकार्यको लागि प्रस्ताव समेत राखेका छन् ।

प्रधानसेनापति क्षेत्रीले निस्वार्थ भावनाबाट नेपाल र नेपाली जनताको हितका लागि संघसँग समन्वय र सहकार्य गर्न नेपाली सेना तयार रहेको र यसका लागि आवश्यक परेमा नेपाल सरकारको स्विकृती समेत लिई अगाडी बढ्न सकिने बताएाक छन् ।

गैरआवासीय नेपाली तथा संघले महाभूकम्प पछि खेलेको भूमिका तथा देखाएको अग्रसरताले यसका सम्भावनाहरू समेत उजागर गरेको आफूले महसुस गरेको बताउँदै प्रधानसेनापति क्षेत्रीले नेपाली सेनाका तर्फबाट गैरआवासीय नेपालीलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

संघको ७१ मुलूकहरुमा संजाल रहे जस्तै नेपाली सेनाको ७५ वटै जिल्लामा संजाल स्थापित भई सकेको र खासगरी अति विकट र दुर्गम स्थानहरूमा नेपाली सेनाले पूर्वाधार निर्माणमा पाएको सफलताले नेपालको पूनर्निर्माणमा सेनाको महत्वपूर्ण भूमिका रहने भन्दै उनले आवश्यक परेमा नेपाली सेनाका दक्ष जनशक्तिको परिचालन गरी राष्ट्रको पूनर्निमाणमा सहकार्य गर्न तयार रहेको बताएका छन् ।

अन्त्यमा, सफल र फलदायी कार्यकालको लागि प्रधानसेनापतिले संघका अध्यक्ष घलेलाई बधाई दिंदै आसन्न सातौं गैरआवासीय नेपाली विश्व सम्मेलनका लागि शुभकामना दिएका छन् ।


  •  
  •  
  •