एनआरएनएद्वारा १० हजार थान एन्टीजिन हस्तान्तरण

568
  •  
  •  
  •  

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले करिब एक करोड मूल्य पर्ने १० हजार थान एन्टीजिन सरकारलाई हस्तान्तरण गरेको छ ।

जापानबाट प्राप्त उक्त एन्टीजिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो । उक्त एन्टीजेन एनआरएनए उपाध्यक्ष डा.बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई शुक्रबार हस्तान्तरण गरिएको एनआरएनएले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री नवराज रावतले कोभिड–१९ विरुद्ध लड्न प्रवासमा रहेका नेपालीले ठूलो योगदान पुर्‍याएको जनाउँदै नेपाल सरकार र संघबीच सहकार्यको आवश्यकता रहेको बताए ।

एनआरएनएका उपाध्यक्ष डा.केसीले विश्वव्यापी कोरोना संक्रमण शुरु भएदेखि नै विदेशमा रहेका नेपालीले स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको जनाए । एनआरएनएका केन्द्रीय पार्षद कपिलदेव थापाले आफ्नो पहलमा केही भए पनि स्वास्थ्यसम्बन्धी सामग्री नेपाललाई जुटाउन सकेकामा प्रसन्नता प्रकट गर्दै यसअघि जापान सरकारले गरेको प्रतिबद्धतानुसार थप स्वास्थ्य सामग्री नेपाल भित्र्याउन पहल गरिने जानकारी दिए ।

यसअघि थापाकै पहलमा संघले नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।एनआरएनएले कोभिड महामारी शुरु भएदेखि दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको एनआरएनए कोभिड –१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।


  •  
  •  
  •