एनआरएनए हेल्थ सम्मेलनको निष्कर्ष : ‘चेतनाको अभावमा महिलामा स्वास्थ्य समस्या बढ्दै’

93
  •  
  •  
  •  

काठमाडौं । चेतनाको अभावमा पछिल्लो समय महिलाहरुमा स्वास्थ्य समस्या बढ्दै गएको एक कार्यक्रमका सहभागिले जोड दिएका छन् ।
गैरआवासीय नेपाली संघ समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनका अवसरमा शनिबार आयोजित ‘महिलाको स्वास्थ्य र अवसर’ विषयक भर्चुअल कार्यक्रममा सहभागिले सो कुरा बताएका हुन् ।

कार्यक्रममा एनआरएनए आइसीसी केन्द्रीय मानार्थ सदस्य एवं एनआरएनए दक्षिण कोरियाका सल्लाहाकार जुनु गुरुङले कोरियामा रोजगारीमा गएका महिलाहरु धेरै समस्यामा रहेको बताइन् । ‘कोरिया आउने ८० प्रतिशत महिला कृषिमा आउँनुहुन्छ । कृषिको काम नेपालको जस्तै हो तर यहाँ व्यवसायीक हो । लामो समयसम्म काममा खट्नुपर्ने हुँदा नेपालमा काम गर्ने बानी नभएकाहरुलाई समस्या परेको छ’ गुरुङले भनिन् ।

उनका अनुसार ढाड दुख्ने लामो समयसम्म काम गर्दा अन्य समस्या देखिने गरेकाले महिलाहरु काम छाडेर भाग्ने, आत्महत्या गर्ने प्रवृति बढेको छ । समस्यामा परेका महिलाहरुलाई सहयोगका नाममा पुरुषहरुले यौन शोषण गर्ने प्रवृति समेत कोरियामा रहेको उजले जानकारी दिइन् । यस्तो समस्या हुन नदिन नेपालबाट कोरिया उड्नुभन्दा अगाडी नै आफूले गर्ने काम र कोरियाको अबस्थाबारे बुझेर जानुपर्ने उनले बताइन् ।

कार्यक्रममा बोल्दै एनआरएनए महिला कोर्डिनेटर भोमादेवी लिम्बुले नेपाली महिलाहरुलाई किशोेरावस्थादेखि नै आफ्नो शारिरीक परिवर्तन र स्वास्थ्य सुरक्षाका विषयमा जानकारी नहुँदा यसले लामो अबस्थासम्म असर पारिरहेको बताइन् ।

सानै उमेरमा गरिने बिबाह, अशिक्षा, कम उमेरमा गर्भधारण गर्दा पनि महिलाहरुमा शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुगिरहेको उनले बताइन् ।  नेपालजस्ता पुरुषप्रधान मुलुकमा महिलाहरुले केही काम गर्न सक्दैनन् भन्ने धारणाले गर्दा पनि महिलाहरुले आफूलाई कमजोर महशुस गर्ने हुँदा यसले पनि मानसिक असर पारिरहेको उनले बताइन् ।

डा.सुजिता श्रेष्ठले कार्यक्रममा बोल्दै विश्वमा प्रत्येक वर्ष १५ लाख स्तन क्यान्सरका विरामी थपिने गरेको बताइन् । नेपालमा पाठेघरपछि दोस्रो सबैभन्दा बढी स्तन क्यानसर हुने गरेको उनको भनाई छ । ‘स्तन क्यान्सरबाट जोगिन स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । स्तनमा गाँठाहरु देखिए । छालाको रंग तथा बनावटमा परिवर्तन आउने लगायत लक्षण देखिएमा तत्काल जाँच गराउनुपर्छ’ डा.श्रेष्ठले भनिन् ।

डा.एलिजा श्रेष्ठले महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको समेत जोखिम रहेको बताइन् । डा.श्रेष्ठकाअनुसार महिनावारी भइसकेपछि लामो समयसम्म पनि रगत बगिरहनु, यौनसम्मर्क गर्दा पटकपटक रगत बग्नु, गन्हाउने पानी बग्नु जस्ता लक्षणहरु पाठेघरको क्यान्सर हुँदा देखिन्छन् । यस्ता लक्षणहरु देखिने बित्तिकै तत्काल अस्पताल जानुपर्ने तथा बेलाबेलामा पाठेघर परीक्षण गराउनुपर्ने उनको भनाई छ । ‘पाठेघरको मुखको क्यान्सरको पहिलो, दोस्रो, तेस्रो र चौथो चरण हुन्छ । पहिलो चरणमा सर्जरी गरेर पाठेघर डिम्बासय र वरपरको ग्रन्थी निकाल्छौँ । ग्रन्थीहरुमा पनि क्यान्सर देखियो भने रेडियो थेरापी गर्छौँ । अर्को भनेको किमो थेरापी पनि हो’ डा.श्रेष्ठले भनिन् ।

नेपालमा पाठेघरको मुखको क्यान्सर भएकाहरु समयमा अस्पताल नपुग्ने हुँदा उपचारमा समस्या हुने गरेको उनले उल्लेख गरिन् । जनचेतनाको अभाव, लाज तथा आफ्नो आर्थिक समस्याका कारण पनि महिलाहरु अस्पताल जान नसकेको उनले उल्लेख गरिन् । रेस्मा प्रसाँइले सञ्चालन गरेको उक्त कार्यक्रममा साउदीबाट यस्मिन बेगम सइदले कार्यक्रमको समग्र विषयको बारेमा आफ्नो धारणा राखेकी थिइन् । उक्त कार्यक्रममा विश्वका विभिन्न मुलुकमा रहेका अन्य स्वास्थ्यकर्मीहरु, विज्ञ तथा विभिन्न पेशामा कार्यरत महिलाहरुको उपस्थिति थियो ।


  •  
  •  
  •