कोभिड–१९ सँग लड्न एनआरएनएलाई आइएलओले ५ करोड १० लाख अनुदान दिने

299
  •  
  •  
  •  

काठमाडौं । संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले कोभिड–१९ सँग लड्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई ४ लाख २४ हजार ३१० डलर अर्थात् रू ५ करोड १० लाख अनुदान दिने भएको छ ।

सो विषयमा आइएलओ र एनआरएनएबीच सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । संघको पहलमा विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार भइरहँदा श्रमिकको लागि अनुदान रकम उपलब्ध हुनुलाई थप जिम्मेवारीबोध भएको एनआरएनएका अध्यक्ष कुमार पन्तले बताएका छन् ।

विशेष गरी कोभिड–१९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अरब गरी चार देशका नेपालीको सहयोगार्थ आईएलओले सो आर्थिक सहयोग गरेको हो । साथै कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा सो रकम खर्चिइनेछ ।

संघले ती मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारी गरेको छ ।

ती कार्यालयबाट विदेशमा कोरोनाकै कारण काम छाड्न बाध्य पारिएकालाई सुरुमै कानुनी परार्मश दिने पनि संघको तयारी छ । साथै आईएलओबाट प्राप्त सहयोग नेपाल फर्किनेहरुका लागि समेत खर्च गरिने एनआरएनले जनाएको छ ।


  •  
  •  
  •