एनआरएनएको अध्यक्षमा कुमार पन्त निर्वाचित

163
  •  
  •  
  •  

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा कुमार पन्त(जर्मनी) निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी कुल आचार्यलाई पराजित गर्दै अध्यक्षमा पन्त निर्वाचित भएका हुन् ।

पन्तले १२१७ मत ल्याएका थिए भने प्रतिस्पर्धी आचार्यले १०७० मत ल्याएका थिए । यस्तै महासचिवमा डा. हेमराज शर्मा(बेलायत) १२३९ ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी जानकी गुरुङले १०५३ मत ल्याएकी थिइन् ।
यस्तै उपाध्यमा बद्री केसी(रसिया), सोनाम लामा(अमेरिका), अर्जुनकुमार श्रेष्ठ(बेल्जियम) र मन केसी(अष्ट्रेलिया) निर्वाचित भएका छन् ।

महिला उपाध्यक्षमा रविना थापा(अमेरिका) निर्वाचित भएकी छन् । सचिवमा गौरीराज जोशी(अमेरिका) र आरके शर्मा(मध्यपूर्व) निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्ष मेहेश श्रेष्ठ (जापान) र सहकोषाध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन् । महाधिवेशनमा विश्वभरीबाट करिब २ हजार ८ सय प्रतिनिधि सहभागी थिए । तिमध्ये दुई हजार ३ सय ४० मतदाताले बिहीबार मतदान गरेका थिए ।
बुधबारका लागि तय भएको मतगणना विद्युतीय मेशिनको गढबढीका कारण बिहीबारमात्रै भएको थियो ।

को हुन् पन्त

गोर्खाको फुजेलमा जन्मिएका(सन् १९७६) कुमार पन्त उनी विद्यार्थीका रुपमा सन् १९९९ मा जर्मनी गएका थिए । समाजशास्त्रमा स्नातक पन्त जर्मनीको फ्र्यांकफर्टमा बस्छन् ।गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष हुन् । उपाध्यक्षमा यो उनको दोस्रो कार्यकाल हो ।

उनको जर्मनी लगायत युरोपका विभिन्न देशमा होटलहरुमा लगानी छ । नेपालमा जलविद्युत परियोजना, बैंकिङ, रेमिट्यान्स, रियल स्टेट, सिमेन्ट उद्योग लगायतमा लगानी छ ।

सन् २००४ मा एनआरएन अभियानमा संलग्न भएका उनी अर्को वर्ष जर्मनीको हिस्सेन क्षेत्रका संयोजक भए । सन् २००९–२०११ मा अन्तर्रा्िष्ट्रय समन्वय परिषद (आईसीसी) सदस्य भएसँगै युरोप क्षेत्रको संयोजकको जिम्मेवारी वहन गर्न पुगे । सन् २०१३–२०१५ मा महासचिव भए र २०१५ यता आईसीसी उपाध्यक्षको जिम्मेवारीमा छन् ।

विभिन्न देशमा छरिएका नेपालीलाई संगठित, राष्ट्रिय समन्वय परिषद स्थापना र सञ्चालनमा समन्वय, निष्क्रिय र समस्याग्रस्त एनसीसीहरुलाई सक्रिय बनाउन सफल भूमिका खेलेका कारण पनि उनी विश्वभरिका एनआरएनमाझ परिचित छन् ।

नेपालमा एनआरएनमैत्री नीति, नियम र संविधान बनाउन, लगानीको वातावरण निर्माण तथा सहजीकरण, संसारभरिका एनआरएनलाई स्वदेशमा आर्थिक–बौद्धिक लगानी एवं परोपकारी कार्य गर्न प्रोत्साहित गर्ने अभियानमा पनि सक्रिय रहँदै आएका छन् ।

भूकम्प लगायत नेपालमा बाढी, पहिरो, आँधीजस्ता प्राकृतिक विपत्तिका बेला राहत, उद्धार, पुनःनिर्माण लगायत परोपकारी कार्यको संयोजन गरी आफै कार्यक्षेत्रमा समेत खटिएका थिए ।

स्वदेशलाई समृद्ध बनाउने अभियानको साझेदार गैरआवासीय नेपाली बन्नुपर्छ भन्ने मान्यताका साथ पन्त एनआरएनको रु. १० अर्बको सामूहिक लगानी कोषलाई मूर्तरुप दिने अभियानमा सक्रिय छन् ।


  •  
  •  
  •