एनआरएनएको महाधिवेशन असोजमा

94
  •  
  •  
  •  

काठमाडौं । नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन आउँदो आश्विन २८ गते देखी ३० गते ( १५–१७ अक्टोवर २०१९) मा हुने भएको छ ।

बिहीबार बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले नेपाल सरकार परराष्ट्र मन्त्रालय समेतको सल्लाहमा गरेर उक्त निर्णय गरेको हो ।

यस वर्षको विश्व सम्मेलन पनि विगतमा झैं नेपाल सरकार नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुन लागेको हो ।

काठमाडौंमा हुने सम्मेलन आयोजनाका लागि नेपाल सरकार परराष्ट्र मन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समितिको गठन हुने कार्य अन्तिम चरणमा पुगेको छ । यस आयोजक समितिमा नेपाल सरकारका प्रतिनिधिहरु र सरोकारवाला संघ संस्थाका अध्यक्षहरु रहने छन् । यसैगरी संघको आन्तरिक आयोजक समिति संघका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन भएको छ ।

सम्मेलन तथा महाधिवेशन सम्बन्धी तयारीका कामहरु तदारुकताका साथ अघि बढी रहेका छन् । यस वर्षको सम्मेलनको मूल विषय ‘म, मेरो एनआरएनए, र मेरो नेपाल’ रहने जनाइएको छ । सम्मेलनमा यसै विषयहरुमा आधारीत भएर विभिन्न शत्रहरुको आयोजना गरिने छ । सम्मेलनमा नेपाल सरकार यहाँका राजनैतिक दल एवं नागरिक समाजको उच्चस्तरीय सहभागीता रहने छ ।

यही विश्व सम्मेलनकै समयमा संघको अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न हुने गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रवक्ता भूषण घिमिरेले जानकारी दिए ।

उक्त महाधिवेशनमा संघको विधान अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन लगायत संघसँग सम्बन्धित विविध विषयहरुमा छलफल भई भावी कार्यनीतिको तर्जुमा गरिने छ । महाधिवेशनमा नै नयाँ कार्यकालको लागि संघका अध्यक्ष लगायत अन्य पदाधिकारीहरुको निर्वाचन समेत हुने प्रवक्ता घिमिरेले बताए ।


  •  
  •  
  •