एनआरएनद्वारा समूह वा प्यानलको आधारमा चुनाव लड्न रोक

146
  •  
  •  
  •  

काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएन) ले राजनीतिक, क्षेत्रीय, जातीय वा धार्मिक आधारमा कुनै समूह वा प्यानलको आधारमा चुनाव लड्न वा समूहगत रुपमा मतको आह्वान र प्रचार प्रसार गर्न रोक लगाएको छ ।

एनआरएनमा राजनीतिक र जातीय प्रभाव पर्न थालेको टिकाटिप्पणी भइरहेको बेला संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले राष्ट्रिय महाधिवेशन सञ्चालनसम्बन्धी नियमावली तयार गर्दै यस्तो कार्यमा रोक लगाइएको हो ।

महाधिवेशन सञ्चालनसम्बन्धी नियमावली बुँदा नम्बर ५.१० मा भनिएको छ, ‘राजनैतिक, क्षेत्रीय, जातीय वा धार्मिक आधारमा कुनै समूह वा प्यानलको आधारमा चुनाव लड्न वा समूहगत रुपमा मतको आह्वान गर्न वा प्रचार गर्न पाइने छैन ।’

नियमावलीमा अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यको उम्मेदवार तथा राष्ट्रिय समन्वय परिषद्का सबै सदस्य उम्मेदवारले संघको आचारसंहितामा यसबारे लिखित प्रतिबद्धता गरी उम्मेदवारी फारमका साथमा पेश गर्नुपर्ने व्यवस्था गरिएको महासचिव बद्री केसीको भनाइ छ ।

कुनै उम्मेदवार राजनीतिक जातीय वा धार्मिक संस्थाको कार्यकारी भूमिकामा रहेको भए सो पद त्यागेको लिखित जानकारी पनि मनोनयन फारमका साथ पेश गर्नुपर्नेछ ।

उक्त व्यवस्थाको उलंघन गरेको पाइए निर्वाचन समितिले छानबिन गरी मनोनयन रद्द गर्न सक्नेसम्मको व्यवस्था गरिएको महासचिव केसीले बताए ।


  •  
  •  
  •