एनआरएनएद्वारा हावाहुरी पीडितलाई राहत वितरण

481
  •  
  •  
  •  

काठमाडौं, २० चैत(ओएनएस) : बारा र पर्साका हावा हुरीबाट पीडितलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राहत वितरण गर्न शुरु गरेको छ ।

आइतबार साँझ आएको हावाहुरीबाट प्रभावितलाई प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गरिएको हो ।
अध्यक्ष भवन भट्टको निर्देशनमा उपाध्यक्ष कुमार पन्त तथा सल्लाहकार रामेश्वर शाहलगायत राहत वितरणमा खटिएको बताइएको छ ।

टोलीले बाराको पुरिया गाउँका ५ सय घरधुरीलाई प्रतिपरिवार २५ किलो चामल, ५ किलो आलु २ किलो दाल र १ लिटर तेल वितरण गरेको छ ।

संघले हावाहुरीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख प्रकट समेत गरेको छ ।
संघले विज्ञप्तिमा भनिएको छ, ‘ प्राकृतिक प्रकोपका कारण भएको क्षतिले संघलाई निकै मर्माहत एवं स्तब्ध बनाएको छ । हावाहुरीका कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरी भएको घटनामा धेरै व्यक्तिको निधन भएकोमा संघ गहिरो शोक व्यक्त गर्दछ ।’

यस्तै संघले विज्ञप्तिमा मार्फत शोकाकुल परिवारहरुमा हार्दिक समवेदना प्रकट गर्दै संघ घटनामा परी घाइते भएका व्यक्तिहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
प्राथमिक चरणको आवश्यक राहतका लागि संघ जुटिरहेको जनाइएको छ ।

यस्तै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषद्लगायत अभियन्ताहरुमा राहत कार्यका लागि तुरुन्त जुट्न तथा सहयोग गर्न आग्रह पनि गरेको छ ।


  •  
  •  
  •