गैरआवासीय नेपाली संघद्वारा संविधान निर्माणका लागि भएको सहमतिको स्वागत

119
  •  
  •  
  •  

NRN_logoकाठमाडौ, २७ जेठ (ओएनएस) :  संविधान निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउन नेपालका प्रमुख चार राजनीतिक दलहरु वीच भएको सभझदारी र प्रतिबद्धतालाई गैरआवासीय नेपाली संघले  स्वागत गरेको छ । अध्यक्ष शेष घलेले बुधबार विज्ञप्तिमार्फत १६ बुँदे सहमतिको स्वागत गरेका हुन् ।

देश र जनताले महाभूकम्पको मार खपिरहेको बेला राज्यको सम्पूर्ण शक्ति पुनर्निर्माण,पुनर्स्थापना र आर्थिक विकासमा केन्द्रित गर्नुपर्ने वर्तमान आबश्यकतालाई महसुस गर्दै राजनीतिक दलहरुले देखाएको अभूतपूर्व एकताले नेपाली जनता र सम्पूर्ण गैरआवासीय नेपालीहरुमा आशाको संचार गराएको संघले जनाएको छ ।

राजनीतिक दलहरुले गरेको सहमतिअनुसार अब केही महिनामै मुलुकले नयाँ संबिधान पाउने र मुलुकमा राजनीतिक स्थीरता कायम भई पुनःनिर्माण र आर्थिक सम्बृद्धिको मार्गमा अघि बढ्ने संघले विश्वास लिएको छ ।

दलहरुवीच भएको सहमति अनुसार नयाँ संबिधानमा गैरआवासीय नेपालीहरुले नागरिकता पाउने बिषयको समेत सम्बोधन हुनेमा उत्साहित भएको संघले जनाएको छ । मातृभूमीलाई संकट परेका बेला नेपालमै आएर केही गर्ने अठोट बोकेका मनकारी गैरआवासीय नेपालीहरुलाई  सहमतिले थप उत्साह र हौसला प्रदान गरेको पनि संघले जनाएको छ ।

संबिधान निर्माण र स्थायित्वसँगै गैरआवासीय नेपाली संघ मुलुकको आर्थिक सम्बृद्धि र पुनः निर्माणमा साझेदार बनेर योगदान गर्न तप्पर रहेको जनाएको संघले   नेपालमा सीप, ज्ञान र पूँजी भित्राएर मुलुकलाई सम्बृद्ध बनाउने हाम्रो अभियानलाई अझै उचाईमा पुर्‍याउने प्रतिबद्धता जनाइएको छ ।


  •  
  •  
  •