
काठमाडौं । गैरआवासीय नेपालीहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेका छन् । भेटमा उनीहरुले नागरिकताको विषयबारे ध्यानाकर्षण गराएका छन्।
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापा र अध्यक्ष कुल आचार्यसहितले शुक्रबार पौडेलसँग भेटेर आफूहरुले लामो समयदेखि उठाउँदै आएको नागरिकताको विषय समाधानका लागि पहल गरिदिन भनेका हुन्।
भेटमा संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकताको प्रावधानसमेत समेटिएको नागरिकता विधेयकलाई यथाशक्य पूर्णता दिने पहलका लागि आग्रह गरे।

अध्यक्ष आचार्यले गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्तिमाथिको अधिकारबारे स्पष्ट कानुनी व्याख्या नहुँदा समस्या भोग्नुपरेको भन्दै यसको सम्बोधनका लागि पनि आग्रह गरे।
संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले नेपाली जहाँ रहे पनि समृद्ध नेपाल निर्माणका लागि उत्साही र इच्छुक रहेको बताए ।

गैरआवासीय नेपालीहरुले समृद्ध मुलुक निर्माणका लागि आफ्नो तर्फबाट अभियान थालिसकेको भन्दै डा. महतोले उक्त अभियानको कुशल अभिभावकत्वका लागि राष्ट्रपति पौडेललाई अनुरोध गरे।
गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आफू गैरआवासीय नेपालीका गतिविधि र अभियानबारे जानकार रहेको भन्दै संघले उठाएका मुद्दा सम्बोधनमा सकारात्मक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।
गैरआवासीय नेपाली नागरिकताको विषय नागरिकता विधेयकमै समावेश भएको र त्यसमा कुनै समस्या नरहेकोले त्यो विषय पनि केही समयभित्रै सम्बोधन हुने राष्टपति पौडेलको भनाइ थियो ।