नौ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनको क्षेत्रीय सम्मेलन सम्पन्न

486
  •  
  •  
  •  

जापान ३ असोज (ओएनएस): जापानमा भएको गैरआवासीय नेपाली संघको आठौँ क्षेत्रीय सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।

विहीबार र शुक्रबार जापानको नागोनास्थित तातेसिनामा भएको सम्मेलनले तोकिएको समयमा संविधान जारी गर्न राजनीतिक दललाई  आग्रह गरेको छ भने गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने मागलाई निरन्तरता दिने घोषणा पत्रमा उल्लेख  छ ।

घोषणापत्रमा संविधानसभाका सदस्य, बिभिन्न राजनीतिक दल लगायत सम्बन्धित पक्षसँग नयाँ संविधानमा नेपाली नागरिकताको निरन्तरताको ब्यवस्था गर्न सम्मेलनले जोडदार माग गरेको उल्लेख छ ।

घोषणापत्रमा नेपाल सरकारसँग सहकार्यका लागि साझा आर्थिक मार्गचित्र तयार गर्ने प्रतिबद्धता समेत जनाएको छ । सम्मेलनले लगानी मैत्री वातावरण बनाएर समृद्ध मुलुक निर्माणको आधार तयार गर्न यो सम्मेलन नेपाल सरकारसँग जोडदार माग गरेको छ ।

सम्मेलनमा नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधि, उद्योगी, ब्यवसायी, संचारकर्मीसहित गैरआवासीय नेपाली संघका २१ देशका ३ सय ३३ प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

                      गैरआवासीय नेपाली संघको आठौँ क्षेत्रीय सम्मेलनद्धारा जारी
                                                     तातेसिना घोषणापत्र
                                                                 २०१४
गैरआवासीय नेपाली संघको आठौँ क्षेत्रीय सम्मेलन १८–१९ सेप्टेम्बर २०१४ मा जापानको नागोनास्थित तातेसिनामा सम्पन्न भयो । समृद्ध नेपालका लागि आर्थिक मार्गचित्र भन्ने मुल नारा रहेको यस सम्मेलन नेपालका अर्थमन्त्री डा. रामशरण महतको भिडियोलिंक मार्फतको सम्बोधन र सभासद एवं व्यवस्थापिका संसदको कृषि तथा जलश्रोत समितिका सभापति गगन थापा, जापानी संसदका सदस्य गोतो सिगेयुकी, जापानका लागि नेपाली राजदुत डा. मदन कुमार भट्टराई, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र चिनो शहरका मेयर यानागिदाईरा चियोखाजुद्धारा संयुक्त रुपमा उद्घाटन गरिएको थियो ।
सम्मेलन उद्घाटन गर्नु हुने अतिथि लगायत सम्मेलनमा सहभागिता जनाउनु हुने नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधि, उद्योगी, ब्यवसायी, संचारकर्मीसहित गैरआवासीय नेपाली संघका २१ देशका ३ सय ३३ प्रतिनिधिहरुको भावना र विचारलाई समेट्दै यो सम्मेलन निम्न प्रतिवद्धता सहितको तातेसिना घोषणा पत्र २०१४ जारी गर्दछ ।
१. देशमा संविधान निर्माणको क्रम चलिरहँदा गैरआवासीय नेपालीहरुको पनि, ध्यान संविधानसभामै केन्द्रीत रहेको छ । देश अन्तरिम संविधानमार्फत चलिरहेको यो अवस्थामा नयाँ संविधान तोकिएको मिति भित्रै आओस् भन्ने आम चाहना जस्तै हामी सम्पूर्ण गैरआवासीय नेपालीहरुको भावना रहेको छ । त्यसैले यो सम्मेलन दलहरुले भनेकै मिति भित्र संविधानसभा मार्फत नयाँ संविधान जारी गर्न आह्वान गर्दछ ।
२. गैरआवासीय नेपालीहरुले स्थापनाकाल देखिनै उठाउदै आएको नेपाली नागरिकताको निरन्तरता अझै सान्दर्भिक बनेको छ । त्यसैले संविधानसभाका सदस्य, बिभिन्न राजनीतिक दल लगायत सम्बन्धित पक्षसँग नयाँ संविधानमा नेपाली नागरिकताको निरन्तरताको ब्यवस्था गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
३. समृद्ध नेपाल नै बिश्वभरका गैरआवासीय नेपालीहरुको चाहना हो । आर्थिक समृद्धिमा मात्र राष्ट्रियता दीगो र सवल रहन सक्छ भन्ने मान्यता राख्ने हामी गैरआवासीय नेपालीहरु  समृद्ध  नेपालको लागि दीर्घकालिन आर्थिक मार्गचित्र बनाउन जरुरी ठान्दछौँ । जसका लागि नेपाल सरकारसँग सहकार्यकासाथ साझा आर्थिक मार्गचित्र तयार गर्न यो सम्मेलन प्रतिवद्धता जाहेर गर्दछ ।
४. आर्थिक विकास एवं सम्बृद्धिका लागि लगानी मैत्री वातावरण पहिलो सर्त हो । त्यसैले स्वस्थ एवं दिगो आर्थिक बृद्धि हाँसिल गर्न यथासक्य छिटो आवस्यक ऐन कानून निर्माण गर्दै लगानी मैत्री वातावरण बनाएर समृद्ध मुलुक निर्माणको आधार तयार गर्न यो सम्मेलन नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
५. मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउदै आएको बैदशिक रोजगारीका क्रममा कुनै पनि नेपालीले अनावश्यक दुःख पाउनु हुँदैन । यस क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनु राज्य र सरोकारवाला निकायको सामूहिक दायित्व हो । गन्तब्य मुलुकसँग श्रम सम्झौता गर्न र बैदेशिक रोजगारीका लागि विदेश जानुअघि अभियानका रुपमा आवश्यक जनचेतना एवं ज्ञान र शीप प्रदान गर्न सम्बन्धित निकायसँग सहकार्य गर्ने प्रतिवद्धता यो सम्मेलन जाहेर गर्दछ ।
६.  बिश्वभर रहेका ३० लाखभन्दा बढी गैरआवासीय नेपालीहरुको भावनात्मक प्रतिनिधित्व गर्ने प्रतीकका रुपमा गैरआवासीय नेपाली संघको आफ्नै भवन निर्माणका लागि देखाइएको  उत्साहजनक सहभागिताको सम्मान गर्दै यस अभियानमा हातेमालो गर्न सबैलाई यो सम्मेलन हार्दिक अपिल गर्दछ ।
७. परोपकारी तथा समाजिक कार्यहरुमा सकृय रहँदै आएको गैरआवासीय नेपाली संघ यो क्षेत्रमा आगामि दिनमा अझ महत्वपूर्ण योगदान गर्दै जाने प्रण गर्दछ ।
८. यस सम्मेलनलाई भव्यतापुर्वक सम्पन्न गर्न मुख्य भुमिका निर्वाह गर्ने सम्मेलन आयोजक समिति, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान, नेपाली दुतावास जापान, नेपालस्थित जापानी दुतावास, स्थानीय नेपाली, प्रायोजक, संचारकर्मी लगायत सम्पूर्ण सहयोगीहरुप्रति यो सम्मेलन हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ ।
९. गैरआवासीय नेपाली अभियानलाई यस उचाईसम्म ल्याउन योगदान गर्ने सबैको उच्च मूल्यांकन गर्दै आगामी दिनमा संसारभरबाट नै अझ बढि सहभागिता, सकृयता र सहयोगका लागि यो सम्मेलन हार्दिक आह्वान गर्दछ ।


  •  
  •  
  •