एनआरएन आठौं क्षेत्रीय सम्मेलनमा जापानमा सुरु

142
  •  
  •  
  •  

जापान, २ असोज (ओएनएस) : गैरआवासीय नेपाली संघ (एनआरएन)को आठौं क्षेत्रीय सम्मेलन बिहीबारदेखि जापानको नागानोस्थित तातेसिनामा सुरु भएको छ । ‘सम्बृद्ध नेपालका लागि आर्थिक मार्गचित्र’ नारासहित सुरु भएको सम्मेलनमा बिभिन्न मुलुकबाट करिव २ सयभन्दा बढी गैरआवासीय नेपालीहरुको सहभागीतो छ । सम्मेलनको जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई, एनआरएन अध्यक्ष शेष घले, सभासद् गगन थापा र स्थानीय चिनो शहरका मेयरले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री डा. रामशरण महतले विशेष राजनीतिक परिस्थितिका कारण जापान आउन असमर्थ भएपनि अनलाइनमार्फत् सम्मेलनलाई सम्बोधन गरे । अर्थमन्त्री महतले जापानलगायत बिश्वका अत्यन्तै प्रतिस्पर्धी मुलुकमा पनि नेपालीले गरेको ठूलो प्रगतिबाट नेपाल र नेपाली गौरवान्वित रहेको बताए । ‘बिदेशमा नेपालीले आर्जन गरेका सीप, पूँजी र जाँगर अब नेपालमा लगाउनुपर्छ’ उनले भने ‘लगानीका लागि लगानीमैत्री नीति र सरकार चाहिन्छ, लगानीमैत्री नीति बनाउन सरकार तयार छ ।’ नेपालमा एनआरएनको लगानी सुरु भइसकेकोले त्यसलाई अझै बढाउनुपर्ने उनले बताए ।
साथै नेपाली नागरिकताको निरन्तरताका लागि नेपाल सरकार र सभासद्हरु समेत र सो माग सम्बोधन हुनेमा आफु बिश्वस्त रहेको जानकारी दिए ।
‘एनआरएनहरु नेपाल आउँदा बिदेशी भएर हैन नेपाली भएर आउन पाउनुहोस भन्ने हाम्रो चाहना हो’ अर्थमन्त्री महतले भने ‘नेपालीलाई भन्दा कम सुबिधा नहोस, भेदभाव नहोस भन्ने सरकारको चाहना छ ।’

सम्मेलनलाई सम्बोधन गर्दै एनआरएन अध्यक्ष शेष घलेले बिगत १० बर्षमा एनआरएनको संजाल विस्तार भएकाले अब यसलाई दिगो बनाउने र उपलब्धीमूलक काम गर्नेतर्फ आफ्नो प्रयत्न रहेको बताए । नेपालमा अझै पनि बिदेशी लगानी र एनआरएन लगानीमैत्री कानून नभएकोले त्यसलाई परिवर्तन गरेर प्रशासनिक झण्झट कम नगर्दासम्म लगानी आर्कर्षित गर्न कठिन हुने बताए ।

सम्मेलन आयोजक समितिका संयोजक एवं एनआरएन उपाध्यक्ष भवन भट्टले एउटा सानो सम्मेलनले पनि नेपालको आर्थिक बिकाशको मार्गचित्र कोर्न सुरुवात गर्न सक्ने बताए ।
एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले अहिलेको अबस्थामा राष्ट्रियताको परिभाषा फेरिएको भन्दै मुलुकको सम्बृद्धि नै अहिलेको राष्ट्रियता भएको बताए ।

एनआरएनको भवन निर्माणका लागि भइरहेको अर्थ संकलनमा अभियानमा ऐक्यबद्धता जनाउँदै उनले भवनका लागि १ करोड ५१ लाख रुपैयाँ सहयोगको घोषणा गरे । सो अवसरमा सभासद् गगन थापाले एनआरएनले उठाएका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै मुलुकको सम्बृद्धिका लागि एनआरएनको सहभागिता अपरिहार्य रहेको बताए ।

जापानका लागि नेपाली राजदूत मदन भट्टराईले जापानसँग दोहोरो कर अन्त्यसम्बन्धी सम्झौताका लागि पहल भइरहेको जानकारी दिए ।
सम्झौतापश्चात जापानमा रहेका नेपालीले नेपालमा लगानी गर्दा दोहोरो कर तिर्नु नपर्ने उनले बताए । आर्थिक मार्ग चित्रबारे छलफल उद्घाटन लगत्तै नेपालको आर्थिक बिकाशको मार्गचित्र र गैरआवासीय नेपालीको लगानीका बिषयमा छलफल गरिएके थियो ।

सभासद् गगन थापाले गैरआवासीय नेपालीको संयुक्त लगानीबाट ठूला आयोजना मात्र नभई सानो लगानीलाई पनि ध्यान दिन आग्रह गरे ।
साथै गैरआवासीय नेपालीले परोपकारी कामको ढाँचा परिवर्तन गर्दै ‘सामाजिक उद्यमशिलता’मा ध्यान दिनुपर्ने थापाले बताए ।
‘तपाईहरुले बिदेशमा सिकेको काम गर्ने संस्कारलाई नेपालमा स्थापित गर्नुपर्यो’ उनले भने ।  एनआरएन अध्यक्ष शेष घलेले नेपाललाई दोहोरो अंकको आर्थिक बृद्धि जरुरी रहेको बताए ।
‘नेपालको आर्थिक बृद्धिदर मनसुनमा आधारित छ, मनसुन राम्रो भयो भने धान खेती बढ्छ, आर्थिक बृद्धिदर बढ्छ’ उनले भने मनसुनमा आधारित आर्थिक बृद्धिदर परिवर्तन गर्न आबश्यक छ ।’ राजनीतिक तहमा आर्थिक एजेण्डामा छलफल कम भएको बताउँदै अध्यक्ष घलेले प्रशासनिक झमेलाका कारण प्रत्यक्ष बैदेशिक लगानी आउन नसकेको स्पष्ट पारे ।

‘मैले आफ्नै होटल बनाउन खोज्दा नक्सा पास गर्न एक बर्ष धाउनुपर्यो’ उनले भने ‘यस्तो प्रशासनिक झमेला र पुराना ऐन नियमले कसरी लगानी आउन सक्छ ?’  नेपाल उद्योग बाणिज्य महासंघ अन्तराष्ट्रिय तथा गैरआवासीय नेपाली लगानी प्रर्बद्धन समितिका सभापति चन्द्रप्रसाद ढकालले नेपालको बजेट बराबर एक बर्षमा साढे ५ खर्व रेमिट्यान्स भित्रिने बताए ।

छलफलमा एनआरएन संस्थापक अध्यक्ष उपेन्द्र महतो, निवर्तमान अध्यक्ष जीवा लामिछाने, अष्ट्रेलियाकी महिला उद्यमी जमुना गुरुङ लगायतले नेपालमा गैरआवासीय नेपालीको लगानीका लागि आह्वान गरेका थिए ।


  •  
  •  
  •