लगानी सम्मेलन : एनआरएनले नेपालमा १० अर्ब लगानी गर्ने

अध्यक्ष भट्ट र महानिर्देशक सिंहले गरे हस्ताक्षर
471
  •  
  •  
  •  

काठमाडौं, १६ चैत(ओएनएस) : गैर आवासीय नेपाली संघ (एनआरएन)ले नेपालमा १० अर्ब लगानी गर्ने भएको छ । लगानी सम्मेलनको अवसरमा शनिबार सरकार र एनआरएनबीच नेपालमा १० अर्बको लगानी गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा संघका तर्फबाट एनआरएन अध्यक्ष भवन भट्ट र सरकारको तर्फबाट उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै अब ‘एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष’ स्थापना गर्ने गरेर एनआरएनले नेपालमा लगानी गर्ने जनाइएको छ ।

एनआरएन उपाध्यक्ष तथा एनआरएन लगानी तथा वाणिज्य प्रवद्र्धन कार्यदलका अध्यक्ष कुमार पन्तले सरकारसँग भएको सम्झौतालाई ऐतिहासिक भएको बताएका छन् ।

एनआरएनले यसैवर्ष नेपालमा कोषमार्फत १० अर्ब लगानी गर्ने उनले बताए । गैरआवासीय नेपालीको लगानी विभिन्न आयोजनामा छरिएर आउँदा ठूलो परिणाम नदेखिएकाले कम्पनी खडा गरेर एकमुष्ठ रुपमा लगाउन खोजिएको उपाध्यक्ष पन्तले बताए । एनआरएनको लगानी सम्बन्धी सो प्रस्ताव हालै परेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो र सम्झौताको बाटो खुलेको थियो ।

सहमतिअनुसार सुरुमा एनआरएनले ५ प्रतिशत प्रारम्भिक रकम कोषमा राख्नेछ । यस्तै ५ प्रतिशत नेपाल सरकारले र अर्को ५ प्रतिशत नेपालको निजी क्षेत्रले राख्ने छ । बाँकी ८५ प्रतिशत रकम एनआरएनले आईपीओ मार्फत जुटाउने पन्तले जानकारी दिए ।


  •  
  •  
  •