‘कति खुसी थियौ हामी, सँगै साथमा हुदाँ खेरी’

233
  •  
  •  
  •  

काठमाडौं २१ साउन (ओएनएस) :
कति खुसी थियौ हामी, सँगै साथमा हुदाँ खेरी
आँसु पुच्छने हात छैन, आज मैले रुँदा खेरी ।

तनहुँ भिमादकी रेखा परियारको मोबाइलमा यो ब्याकटोन बज्न थालेको झण्डै २ महिना भयो। बैदेशिक रोजगारीका लागि साउदी गएकी दिदी जेल परेपछि उनले मोबाइल रिङ ब्याकटोनबाट मनको भावना व्यक्त गर्न थालेकी हुन्।

झण्डै ३ वर्ष अघि साउदी गएकी तनहुँ भिमाद–३, भागरकी ३२ वर्षिया शोभा परियारलाई दुई बर्षिय शिशुको हत्याको अभियोगमा सोमबार साउदी अदालतले मृत्युदण्ड दिएको थियो ।

वैदेशिक रोजगारमा साउदी गएकी शोभाले मृत्युदण्ड पाएको समाचार बाहिर आएपछि अहिले शोभाको परिवार शोकमा डुवेको छ। ६५ वर्षीय बुबा भीमबहादुर परियार र ५५ वर्षीया आमा बुद्धिसरा परियारको आँखाको आसु ओभाएको छैन्। घर छिमेक सबै शोकमा छन्। ‘बुबा आमाले मन बुझाउन सक्नु भएको छैन्,’ रेखाले भनिन, ‘खबर सुनेदेखी रोएको रोई हुनुहुन्छ।’ साउदीका लागि नेपाली राजदुताबासमा कार्यरत उदयराज पाण्डेलाई टेलिफोन सम्पर्क गरेर परिवारले घटनाको पुष्टि गरेका थिए ।

जेलभित्रै काममा लागेको भन्दै शोभाले आइतबार मात्रै आमा बुद्धिसरालाई फोन गरेकी थिइन्। ‘छोरासँग बोल्छु स्कूल नपठाउनु भनेकाले त्यो दिन नातीलाई स्कूल पठाइन्’ आमा बुद्धिसराले भनिन, ‘आइतबार म र नातीसँग झण्डै आधा घण्टा फोनमा कुरा भएको थियो ।’ २ दिनअघि फोनमा बोल्दा कुनै नराम्रो खबर नसुनाएकी छोरीले मृत्युदण्ड पाइसकेको खबर सुन्दा अहिले उनी आश्चर्यमा छिन्। ‘फोनमा उसले केही नराम्रो खबर भनिन, ५ दिनअघिबाट जेलमै काम शुरु गरेँ, अब केही पैसा कमाई हुन्छ भनेकी थिइ,’ उनले भनिन, ‘नातीसँग एक वर्षपछि आउँछु, बुबा आमाले भनेको मान्नु भनी।’

२०५९ सालमा तनहुँकै भानुमती–५ का दिपक नेपालीसँग विवाह गरेकी शोभाको पारिवारिक जीवन सफल नभएपछि २०६१ सालमा श्रीमानसँग छुटिट्एर उनी माइती बस्दै आएकी थिइन्। शोभा र छोराको हेरचाहका लागि मासिक २ हजार रुपैया दिने सम्झौता भएपछि दिपकले पैसा नदिएपछि प्रमाणपत्र तह उत्तिर्ण गरेकी शोभाले गाउँकै स्कूलमा काम गरेर छोरालाई पाल्दै आएकी थिइन्। २०६० सालमा जन्मिएको छोरा दिवस नेपाली अहिले भिमादकै ज्ञान ज्योती प्राथमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छन्।

परिवारको खर्च बढ्दै गएपछि छोराको पढाई र पालनपोषणलाई भन्दै शोभा दुलेगौडाका एक व्यक्ति मार्फत बैदेशिक रोजगारीका लागि ३ वर्ष अघि साउदी गएकी थिइन्। ‘पहिल्यैदेखि मालिक र मालिक्निीले कुटपीट गर्ने गरेको भन्दै फोनमा रुने गर्नुहुन्थ्यो,’ शोभाका भाई ध्रुव परियारले भने, ‘मैले प्लेन टिकट काटीदिन्छु आउँनुस्, भन्दा घरमा राम्रो व्यवहार हुन थाल्यो भन्दै दिदीले कामलाई निरन्तरता दिएकी थिइन्।’

‘बच्चालाई हेरिरहेको समयमा शिशुको मृत्यु भएकाले मलाई आरोप मात्र लगाएका हुन् भनेर दिदीले फोनमा भन्नुहुन्थ्यो,’ उनले भने, ‘त्यही आरोपले अनाहकमा दिदीले मृत्युदण्ड पाउनुभयो ।’ घटनाको करिब ६ महिनापछि जेलमा रहेको समयमा साहु र साहुनीले घर पठाइदिन्छु भन्दै साउदी भाषामा लेखेको एउटा कागजमा शोभालाई दस्तखत गर्न लगाएको धुव्रले बताए। उनले भने, ‘त्यो कागजमा के लेखेको थियो, त्यो अझै जानकारी पाएका छैनौं।’

विदेश गएको डेढ वर्षसम्म घरमा पैसा पठाएकी शोभा बीचमा केही समय परिवारसँग सम्पर्कविहीन भएकी थिइन्। पछि उनले नै परिवारलाई फोन गरेर आफू शिशुको हत्या गरेको आरोपमा जेलमा परेको जानकारी गराएकी थिइन् ।
नागरिकबाट


  •  
  •  
  •