बन्द भएको पत्रिकामा टेन्डर सूचना

186
  •  
  •  
  •  

काठमाडौं २ चैत ।  सिन्धुली र रामेछाप जिल्लाका सडक मर्मत तथा पुनर्निर्माणका लागि आह्वान गरेको करोडौंको टेन्डरसम्बन्धी सूचना डिभिजन प्रमुखसहितको संलग्नतामा लुकाइएको पाइएको छ। सिन्धुली र रामेछापका २५ वटा सडक मर्मतका लागि टेन्डर आह्वान गरिएको सूचना सडक डिभिजन कार्यालय खुर्कोटका डिभिजन प्रमुख नवीनमान श्रेष्ठसहितले लुकाएको खुलेको हो। डिभिजन प्रमुख श्रेष्ठ, स्थानीय ठेकेदार र सञ्चारकर्मीको मिलोमतोमा टेन्डर सूचना लुकाइएको छ।

कार्यालयले फागुन २५ गते २५ वटै सडक मर्मतका लागि टेन्डर आह्वानको सूचना सर्वजनिक गरेको जनाए पनि प्रकाशन नै नभएको पत्रिकाका नाममा सूचना प्रकाशन भएको रिपोर्ट बनाएर श्रेष्ठले सूचना लुकाएको निर्माण व्यवसायीले गुनासो गरेपछि यस्तो तथ्य सार्वजनिक भएको हो।

एक निर्माण व्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘सडक डिभिजनका प्रमुख इन्जिनियर, केही स्थानीय ठेकेदार र सञ्चारकर्मीको मिलोमतोमा ६ महिनाअघि नै बन्द भएको स्थानीय एक दैनिक पत्रिकामा सूचना प्रकाशन गरेर गोप्य गरिएको छ। त्यो पत्रिका अहिले बजारमा छैन। सूचनाबारे कसैलाई जानकारी पनि छैन।’

राष्ट्रिय दैनिकमा सूचना आह्वान गर्दा सबै व्यवसायीले थाहा पाउने र डिभिजन प्रमुखले चाहेको ठेकेदार कम्पनीले निर्माणको जिम्मा नपाउने भयले सूचना गोप्य राखिएको उनको आरोप छ। डिभिजन प्रमुख श्रेष्ठले कमिसन लिएर सीमित व्यवसायीको मात्र टेन्डर परोस् भन्ने उद्देश्यले यसरी सूचना गोप्य राखेको आरोप ती निर्माण व्यवसायीको छ।

टेन्डर सूचना आह्वान गर्दा डिभिजनको आधिकारिक वेबसाइट, कार्यालयको सूचनापाटी तथा सार्वजनिक स्थानमा समेत टाँस गरेको प्रतिलिपि हुनुपर्ने भए पनि त्यसो भएको छैन। उल्टै कार्यालयले बजारमा नजाने गरी सूचना प्रकाशन गरिदिन आग्रह गरेको बुझिएको छ।

डिभिजनले आर्थिक वर्ष २०७१/७२ मा सिन्धुली र रामेछापका विभिन्न सडकको निर्माण तथा मर्मतको सिलबन्दी दरभाउपत्र आह्वानसम्बन्धी सूचना लुकाएको गुनासो आएपछि स्थानीय प्रशासनले छानबिन सुरु गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जगन्नाथ शर्माले सडक डिभिजनले गम्भीर त्रुटि गरेको भन्दै त्यस विषयमा श्रेष्ठसँग स्पष्टीकरण सोधिएको बताए।

आर्थिक प्रलोभनमा सडक डिभिजन प्रमुखकै संलग्नतामा सूचना लुकाएको प्रमाणित भए उनीमाथि कानुनी कारबाही गरिने उनको भनाइ छ। ‘हामीले सत्यतथ्य के हो भनेर प्रमुख श्रेष्ठसँग जबाफ मागेका छौं’, शर्माले भने, ‘चित्तबुझ्दो जबाफ नपाइए कार्यालयका सम्बन्धित फाइल नियन्त्रणमा लिएर अख्तियार र विभागमा छानबिनका लागि पठाउँछौं।’

सडक डिभिजन प्रमुख श्रेष्ठले भने आफूहरूलाई सञ्चारकर्मी र स्थानीय ठेकेदारले फसाएको बताए। ‘सडक मर्मतका लागि आफूले सरकारी नियमअनुसार राष्ट्रिय दैनिक पत्रिकामा १५ दिने सूचना प्रकाशनका लागि दिए पनि सञ्चारकर्मी र केही ठेकेदारको मिलोमतोमा प्रकाशन नै बन्द भएको पत्रिका सूचना प्रकाशन गरेको पाइयो, श्रेष्ठले भने। सूचना प्रकाशनका क्रममा कमजोरी भएको स्वीकार्दै श्रेष्ठले पुन: उक्त सूचना प्रकाशन गर्न लगाउने जनाए।

उनले सिन्धुली जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको जनबोली दैनिक प्रत्रिकामा सूचना प्रकाशन भएको देखाइएको र पछिमात्र पत्रिका ६ महिना अघिदेखि बन्द भएको थाहा पाएको बताए। पत्रिकामा सूचना प्रकाशन भएको विषयमा पत्रिकाका प्रकाशकले अनभिज्ञता प्रकट गरे।

आधा रातमै डिभिजन कार्यालय बेपत्ता

यसैबीच टेन्डरका लागि आह्वान गरिएको सूचना लुकाएको आरोप लागेपछि डिभिजन प्रमुखसहित कार्यालयका सबै कर्मचारीले कार्यालय नै छाडेर राति नै भागेको आरोप लागेको छ। सरकारले निर्णय गरेर सिन्धुलीको खुर्कोटमा हालैमात्र कार्यालय स्थापना गरेर बसेको भए पनि एकएक सबै कर्मचारीले राति नै कार्यालय खाली गरेर हिँडेको स्थानीयले बताए।

‘सूचना प्रकाशन भएकै दिन राति कार्यालयका सबै सामानसहित कर्मचारी हिँडेको पाइयो। किन भागे र कहाँ पुगे भन्ने विषयमा जानकारी छैन’, स्थानीय तथा कांग्रेसका जिल्ला कोषाध्यक्ष शरद आचार्यले भने।

‘कार्यालय सरेको जानकारी छैन, घरबेटीलाई पनि थाहा छैन’, आचार्यले भने। खुर्कोटमा कार्यरत कर्मचारी केकति कारणले राति नै भागे भन्ने विषयमा प्रशासनलाई खबर गरिएको उनको भनाइ छ।

यस विषयमा छानबिन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। डिभिजन प्रमुख श्रेष्ठले भने खुर्कोटमा सानो ठाउँ भएकाले शीतलपाटीको खाल्टेमा कार्यालय सारेको जानकारी दिएका छन्। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •