नेपालको उर्जा प्रभावकारितामा नर्बेले साँढे दुई अर्ब सहयोग गर्ने

191
  •  
  •  
  •  

काठमाडौ, २ बैशाख (ओएनएस) :  नेपाल भ्रमणमा रहेका नर्बेका परराष्ट्र मामिला राज्यमन्त्री मोर्टन होगलण्डले नेपाललाई सहयोग बढाउदै लाने बताएका छन् । आफ्नो देशले सहयोग दिने प्राथमिकताको सूचीमा राखेका १२ मुलुकमध्ये नेपाल पनि एक भएको बताउँदै सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रष्ट पारे ।

अर्थमन्त्री डा रामशरण महतसँग बुधबार भएको भेटघाटको क्रममा राज्यमन्त्री होगलण्डल नर्बे सरकारले नेपाललाई बैकल्पिक उर्जा तथा उर्जा प्रभावकारिता आयोजनाका लागि करिब साढे दुई अर्ब अनुदान सहयोग उपलब्ध गराउन लागेको जानकारी दिए ।

आगामी दिनमा सहयोगलाई बृद्धि गर्ने आश्वासन दिदै उनले यसका लागि दुई मुलुकबीच सहयोगसम्वन्धी परामर्श भैरहने संयन्त्र बनाइने जनाए ।

भेटघाटमा अर्थमन्त्री डा. महतले संबिधान नबनेको अवस्थामा मुलुक राजनीतिक संक्रमणकालमा रहेपनि आर्थिक गतिविधिहरुले तीब्रता पारेको बताएका थिए ।

नर्बे सरकारले नेपालको उर्जा, शिक्षा तथा सुशासनका क्षेत्रमा गरेको सहयोगको सराहना गर्दै महतले उर्जाको प्रभावकारिताका लागि गर्न लागेको थप सहयोगका लागि समेत धन्यवाद दिएका थिए ।

उर्जा अहिले पनि नेपालको उच्च प्राथमिकताको सूचीमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले तामाकोशी तेस्रोमा नर्बेले देखाएको अभिरुचीका लागि धन्यवाद पनि दिए ।

महतले भने, ‘सरकारले जलविद्युतमा प्राथमिकताका साथ साहसिक निर्णय गरेको नतिजा समेत धमाधम आउन थालेको छ । उर्जाको प्रवद्र्धनका लागि ठूला ठूला आयोजनाहरु सञ्चालनमा आउन थालेका छन । यसले गर्दा केही बर्षभित्रै हामी विद्युत निर्यात गर्नसक्ने स्थितिमा पुग्नेछौं ।’


  •  
  •  
  •