काठमाडौँ, १३ चैत(एजेन्सी) : उत्तर कोरियाले एक भिडियो सार्वजनिक गर्दै अमेरिकालाई परमाणु आक्रमणको धम्की दिएको छ । उक्त भिडियोको शीर्षक ‘लास्ट चान्स’ अर्थात् अन्तिम मौका रहेको छ । भिडियोमा एक पनडुबीबाट प्रक्षेपण गरिएको ब्यालेष्टिक मिसाइल देखाइएको छ, जसले वासिंगटनलाई बर्बाद गरिदिन्छ ।
४ मिनेटको यो भिडियोको सुरूवातमा अमेरिका र कोरियाको सम्बन्धको इतिहास देखाइएको छ । अन्त्यमा वासिंगटनको लिंकन मेमोरियल नजिकै न्युक्लियर मिसाइल खसिरहेको देखिन्छ । मिसाइल जमिनमा खसेपछि लिंकन मेमोरियल ध्वस्त भएको देखाइएको छ । यसपछि कोरियाली भाषामा क्याप्सनमा सन्देश देखिन्छ, ‘यदी अमेरिका एक इन्च मात्र हामीतर्फ बढे, हामी तुरून्त परमाणु आक्रमण गरिदिँछौ ।’
उत्तर कोरियाले गत जनवरीमा हाइड्रोजन बम टेष्ट गरेको थियो । यसपछि पनि केही लामो तथा छोटो दुरीका मिसाइल परिक्षण गर्दै आएको छ । उसले दक्षिण कोरिया र अमेरिकामा पटक-पटक आक्रमण गर्ने चेतावनी पनि दिइसकेको छ ।
उत्तर कोरियाले शुक्रबार पुनः एउटा मिसाइल परिक्षण गरेको बताइएको छ । उक्त मिसाइल परिक्षणको फोटो समेत सार्वजनिक गरिएको छ । उत्तर कोरियाको धम्कीपछि दक्षिण कोरिया पनि सतर्क भएको छ । दक्षिण कोरियाली राष्ट्रपति पार्क गुएनले शुक्रबार सैनिक अधिकारीहरूसँग भेट गरेका थिए ।