उत्तर र दक्षिण दुवै नाका अवरूद्ध गर्छौँ : यादव

260
  •  
  •  
  •  

काठमाडौ, १३ फागुन(ओएनएस) : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले तत्काल ठोस कदम नचाले अबको आन्दोलन उत्तर र दक्षिण दुवै तिरका नाका अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘अहिले सरकारलाई मुद्दा संवोधन गर्ने अवसर छ, तर राज्य यो अवसर खेर फाल्दैछ । राज्य यसरी नै अघि बढे अबको आन्दोलन वीरगञ्ज मात्रै होईन उत्तर र दक्षिण दुवै तिरका नाका बन्द गरेर अघि बढ्छ ।’

साक्षात्कारमा अध्यक्ष यादवले अहिले आफूहरू आन्दोलनको समिक्षासहित शक्ति सञ्चय गरेर विगतको भन्दा कडा आन्दोलन घोषणा गर्ने तयारीमा जुटेको जानकारी दिदै अबको आन्दोलन मधेसको मात्र नभई राष्ट्रिय रुपमै अघि बढ्ने र आन्दोलनको एउटा केन्द्र काठमाडौ समेत बन्ने घोषणा गरेका छन् ।

उनले भने, ‘अबको आन्दोलन पहिला भन्दा बिस्तारित हुन्छ । अहिले आन्दोलनको स्वरुपमात्रै फेरिएको हो तर आन्दोलन जारी छ । सरकारले विदेशीको आन्दोलन भनेर दमन गर्यो तर यो देशभक्तिपूर्ण आन्दोलन हो । राज्यले चाहेर पनि आन्दोलनकारीले जातीय सहिष्णुता र राष्ट्रिय एकतामा आँच आउन दिएनन् । यो आन्दोलन बिनाबर्दीका सेना बनेर भुगोल र सीमाको रक्षा गर्ने आन्दोलन पनि थियो ।’

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा सीमांकन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन प्रति टिप्पणी गर्दै अध्यक्ष यादवले संघीयता गणतन्त्र विरोधीलाई संघीयताको विषय हल गर्ने जिम्मेवारी दिनु हास्यास्पद भएको बताए । उनले भने,‘ यो संयन्त्र दिल्लीलाई ठग्न बनाएको हो । मधेसी मोर्चाले यो आयोगलाई मान्यता दिदैन । यो संयन्त्र समस्या हल गर्न बनाएको होईन । राज्य संवेदनशील छैन, हासिमजाक गरिरहेको छ । यसको कुनै अर्थ छैन ।’

संविधान परिवर्तन र पुर्नलेखन गरेमात्रै सकारात्मक परिस्थिति बन्ने भन्दै उनले त्यसको आधार राज्य पुनःसंरचना आयोगको प्रतिवेदन, अन्तरिम संविधान र आफूहरुले अघि सारेको ११ बुँदे माग रहेको उनले स्पष्ट पारे ।

अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पूर्ण रुपमा असफल भएको दावी गर्दै परराष्ट्र मन्त्रालयले आवश्यक तयारी नै नगरी आवेग र उत्तेजनामा प्रधानमन्त्री दिल्ली दौडिनु गलत भएको बताए । उनले प्रधानमन्त्रीले कुनै एजेण्डा नलिई जानु भुल भएको भन्दै दावी गरिए अनुसार भ्रमणले नेपाल भारत सम्बन्ध सुधार नगरेको बताए ।

उनले संविधानलाई भारतले समर्थन नगरेको भन्दै आफ्नै देशका जनताले स्वामित्व नलिएको संविधानलाई भारतले समर्थन गर्ने कुरै नभएको टिप्पणी गरे । अध्यक्ष यादवले सात बुँदे सम्झौता पुरानै कुरा भएको भन्दै गुजरातमा नेपालको झण्डालाई उट्पट्याङ बनाउने कुराले नेपाल र नेपाली जनताको आत्मसम्मान र स्वाभिमानमा धक्का पुर्याएको दावी गरे । उनले भने,‘ देशको बेईज्जत हुनेगरी झण्डा बनाउँदा दिल्लीको नेपाली दुतावास के हेरेर बसेको थियो ? यसले पनि यो सरकार राष्ट्रबादी होईन भन्ने प्रष्ट बनाउँछ । राष्ट्रिय स्वाभिमान विरोधी गतिविधी हो ।’

पेट्रोलियम पदार्थ सहज आपूर्ति हुदा पनि बजारमा अभाव र कालोवजारी जारी नै रहेको आरोप लगाउँदै सरकारले ग्यास र पेट्रोलको कृतिम अभाव सृजना गरेर माफीयातन्त्रलाई प्रोत्साहन गरिरहेको आरोप लगाए । उनले भने,‘ यो सरकार ईतिहासकै सबैभन्दा बढी भ्रष्टचारी देखिएको छ ।’


  •  
  •  
  •