सन् २०२० को नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई

95
  •  
  •  
  •  

एजेन्सी । सन् २०२० को नोबेल शान्ति पुरस्कार यस वर्ष संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई दिइने भएको छ ।

भोकमरी नियन्त्रण गर्न काम गरेकाले विश्व खाद्य कार्यक्रमलाई उक्त पुरस्कार दिने निर्णय लिइएको पुरस्कार दिने संस्थाले जनाएको छ। उक्त पुरस्कारको राशि १० लाख अमेरिकी डलर रहेको छ।

नर्वेजियन नोबेल कमिटीका अनुसार विश्व खाद्य कार्यक्रमले ‘भोकमरीलाई युद्ध र द्वन्द्वको अस्त्रका रूपमा प्रयोग’ गर्न रोक्ने प्रयास गरेकाले उक्त सम्मान दिइएको हो। ओस्लोमा १०१ औँ नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिएको हो।

यसअघि चिकित्साशास्त्र, भौतिक शास्त्र, रसायनशास्त्र र साहित्यका विजेताको नाम घोषणा भइसकेको छ।

सन् १९०१ देखि दिन थालिएको नोबेल शान्ति पुरस्कार अहिलेसम्म २४ पटक संस्थाले पाएका छन्। अरू नोबेल पुरस्कारको घोषणा स्वीडेनको स्टोकहमबाट गरिने भए पनि शान्ति पुरस्कार नर्वेको ओस्लोबाट घोषणा हुन्छ। गत वर्ष इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीले नोबेल शान्ति पुरस्कार पाएका थिए।


  •  
  •  
  •