नयाँ वर्षसँगै काठमाडौं प्लाष्टिककाे झोलामुक्त

244
  •  
  •  
  •  

plastics in nepalकाठमाडौं, ११ चैत (ओएनएस) :  तपाई बजारमा किनमेल गरेपछि सामान, तरकारी वा अन्य वस्तु केमा हालेर ल्याउनुहुन्छ ? प्लाष्टिकको झोलामा ?

अब तपाईले प्लाष्टिकको झोला बोके कारबाहीको भागिदार हुनपर्नेछ । तपाईले बोक्ने प्लाष्टिकको झोलाको मूल्य एक वा दुई रुपैयाँँमात्र हुन सक्छ तर, तपाई त्यही प्लाष्टिकको झोला बोकेकै कारण ५० हजारसम्म जरिवानाको भागिदार बन्नुपर्नेछ ।

सरकारले काठमाडौं उपत्यकालाई अगामी २०७२ सालको पहिलो दिनबाटै प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गर्दैछ । त्यसपछि, प्लाष्टिकको झोलामा सामान बेचे वा किने कारवाहीको भागिदार हुनुपर्नेछ । नयाँ वर्षबाट काठमाडौं उपत्यकालाई प्लाष्टिक झोलामुक्त घोषणा गर्ने सरकारले नीतिगत निर्णय गरिसकेकाले १ गतेबाट कार्यान्वयनमा आउनेछ ।

प्लाष्टिक झोलालाई नियन्त्रण तथा नियमन गर्ने निर्देशिका २०६८ अनुसार प्लाष्टिकको झोलाको विक्री वितरण गरे ५० हजारसम्म जरिवाना हुनेछ । सामान बोक्नेलाई ‘मापसे शैली’मा बाटामै कारवाही गर्नेसमेत तयारी छ । प्लाष्टिक मुक्त काठमाडौं र कारवाही प्रक्रियाका विषयमा बुधबार बिहानमात्रै सचिवहरुको बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा ४० सचिवको सहभागिता थियो ।
प्लाष्टिकको झोलाको मापदण्डचाहि कालो झोलाको मोटाई ३० माइक्रोन र अन्य रङको मोटाई २० माइक्रोन तोकेको छ । अब कालो प्लाष्टिकको झोलाका लागि न्यूनतम ३० माइक्रोन र अन्य रङको झोलाका लागि २० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन गर्न, आयात गर्न, निर्यात गर्न, विक्री वितरण गर्न र प्रयोग गर्न पाइने छैन ।

काठमाडौं वातावरणका हिसाबले जोखिममा रहेकाले सरकारले कडाईका साथ निर्णय कार्यान्वयन गर्ने वातावरण विमागका महानिर्देशक डा. सुरज पोखरेलले जानकारी दिए ।

‘प्लाष्टिक झोलाको प्रयोगले एलर्जी, टाउको दुख्ने, पेटको रोग, दम, क्यान्सरजस्ता डरलाग्दा रोग निम्त्याउने देखियो’ उनले भने, ‘संसारका अरु ठाउँमा पनि प्लाष्टिक प्रतिबन्ध लागिसकेको छ अब, नेपालमा पनि प्रतिवन्ध हुन्छ पहिलो अभियान काठमाडौंबाट सुरु हुँदैछ ।’ झोला बोकेर बाटोमा हिड्नेहरुलाई समेत कारबाही गर्नेगरि सरकारले नीति ल्याउन लागेको उनले बताए ।

नेपालका केहि नगरपालिकामा प्लाष्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाईसकिएको छ । प्लाष्टिक झोला मुक्त राख्ने अभियानमा सामाजिक संस्था ‘दिदीबहिनी’ सक्रिय बनेको छ । दिदीबहिनीका नेतृत्वकर्ता सिलसिला आचार्यले २०७२ सालभरमा नेपाललाई प्लाष्टिक झोला मुक्त बनाउन ६ चरणको योजना बनाएको बताइन ।

जनतालाई प्लाष्टिकको झोलाको विकल्प दिने, प्लाष्टिकको झोला प्रयोग नगर्दाको फाइदाबारे जनचेतना दिने, प्लाष्टिक झोला प्रयोगविरुद्ध देशभरबाट १० लाख हस्ताक्षर संकलन गरेर प्रधानमन्त्रीलाई बुझाउन लागेको उनले बताइन । काठमाडौंमा मात्रै दैनिक ४७ लाख प्लाष्टिक झोला प्रयोग हुने गरेको तथ्याङकले देखाएको छ । बुधवारको बैठकमा केही सचिवहरुले भने प्लाष्टिक मुक्त अभियान सम्भव नहुने टिप्पणी गरेका थिए ।

प्लाष्टिक मुक्त अभियानमा वातावरण मन्त्रालयले अगुवाई गरेर गृह, अर्थ र स्थानीय विकास मन्त्रालयले समन्वय गर्ने सहमति बनेको छ । प्लाष्टिकमुक्त घोषणालाई मन्त्रिपरिषदबाट पारित गराउने तयारी भइरहेको स्रोतले बताएको छ । प्लाष्टिक उद्योगहरुले प्रतिवन्ध लगाउन नहुने भन्दै बिरोध गरिरहेका छन् ।


  •  
  •  
  •