मागेरै भएपनि सार्क सम्मेलनभर लोडसेडिङ नगरिने

192
  •  
  •  
  •  

radha gyawaliकाठमाडौ, ३ मंसिर(ओएनएस) :  १८ सार्क शिखर सम्मेलन अवधिभर देशका मुख्य शहरहरू लोडसेडिङ मुक्त हुने उर्जामन्त्री राधा ज्ञवालीले घोषणा गरेकी छिन् ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले सम्मेलन अवधीभर राजधानी काठमाडौसहित राष्ट्रप्रमुख र सरकार प्रमुखहरूले भ्रमण गर्ने जनकपुर, लुम्बिनी, मुक्तिनाथ र धुलिखेल क्षेत्र पूर्णरूपमा लोडसेडिङ मुक्त हुने घोषणा गरेकी हुन् । यसका लागि भारतबाट ५ सय मेगावाट विद्युत मागेको र त्यसमध्ये १ सय ७० मेगावाट विद्युत आयात भइरहेको मन्त्री ज्ञवालीले बताइन् ।

कार्यक्रममा उनले यस वर्ष भारतबाट थप विद्युत मागिएकाले अघिल्ला वर्षभन्दा यस वर्षको हिँउदमा कम लोडसेडिङ हुने बताइन् । यसका साथै लोडसेडिङ कम गर्नका लागि निर्माणाधिन आयोजनाहरूको काम छिटो सम्पन्न गरादने, साना आयोजना निर्माण गर्न सहयोग गर्ने, बुढीगण्डकी र नर्सिङ्गाड जस्ता आयोजनाका कामहरू तत्काल अगाडि बढाउने उनको भनाई थियो ।

हालै भएको सार्क पावर सेन्टरको कार्यक्रममा नेपालबाट उत्पादित विद्युतले सार्क क्षेत्रको उर्जा संकट समाधान गर्ने निष्कर्ष निकालेकोले आगामी सार्क शिखर सम्मेलनमा उर्जा विकास र उर्जा व्यापार प्रमुख एजेण्डाका रुपमा रहने समेत स्पष्ट पारिन् ।


  •  
  •  
  •