खाना पकाउने समयमा लोडसेडिङ हुँदैनः उर्जामन्त्री

129
  •  
  •  
  •  

काठमाडौँ, २६ कात्तिक(ओएनएस) : उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले भारतको नाकाबन्दीको कारण सर्वसाधारण उपभोक्तालाई राहत दिन बिहान र बेलुका खाना पकाउने समयमा लोडसेडिङ नहुने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको देउसी भैलो कार्यक्रमका क्रममा उनले काठमाडौं र शहरी क्षेत्रमा बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका पनि त्यस्तै समयमा खान पकाउन लोडसेडिङ हुन नदिने योजना ऊर्जा मन्त्रालयले बनाएको जानकारी दिएका छन् । यस्तै, दाउरा ल्याउने र राष्ट्रसेवक कर्मचारीले लिइरहेको सुविधा समेत कटौती गर्ने योजना बनाएका बनाएको बताएका छन् ।

भूकम्पको आलो घाउमा भारतीय नाकाबन्दीले नुन चुक दलेको भन्दै आपूर्ति असहज नभए पनि नेपाली जनतामा भने राष्ट्रिय एकता कायम भएकोले यो गर्व गर्न लायक विषय भएको मन्त्री रायमाझीले बताए ।

उनले भने,‘नाकाबन्दीको विरुद्धमा राष्ट्रिय एकता कायम भएको छ । यो गर्व गर्न लायक विषय हो । यसलाई सदुपयोग गरी कुटनीतिक पहल गरेर नाका खोल्ने र मधेसीको माग सम्बोधन गर्न कोशिस गर्नु पर्छ । संविधान कार्यान्वयन गर्न नाकाबन्दी र आन्दोलन सम्बोधन गर्नै पर्छ ।’

उनले समावेशी समानुपातिक प्रतिनिधित्व र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणमा सबैको प्रतिबद्धता आइसकेकोले अहिले सीमांकनमा केही फेरबदल गर्न छलफल भइरहेको भन्दै समस्या समाधानमा अधिकतम लचक भएर प्रस्तुत हुने विश्वास व्यक्त गरे ।

उपप्रधानमन्त्री रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली स्वयमले आगामि तिहारबाट लोडसेडिङ अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिसकेकोले सोही अनुसार काम भइरहेको भन्दै जलविद्युत उत्पादनलाई युद्ध स्तरमा अगाडि बढाउने र सँगै सोलार, वायु, हाइब्रिड, थर्मल र म्याग्नेटिकसहितका सबै उपायहरुमा पहल गरेर ऊर्जा संकट अन्त्य गरिने दृढता व्यक्त गरे ।


  •  
  •  
  •