आन्दोलनले देशको विकास हुँदैन : अध्यक्ष मुरारका

270
  •  
  •  
  •  

sudur pachim mahotsabधनगढी, २२ मंसिर (ओएनएस) : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले तराईमा जारी बन्दहडताल तथा नाकाबन्दीले निजी क्षेत्र धरासायी बन्दै गएको बताएका छन् ।

मंगलबारदेखि धनगढीमा शुरु भएको सुदूरपश्चिम महोत्सव–२०७२ को उद्घाटन गर्दै अध्यक्ष मुरारकाले मुलुक विसम परिस्थितिमा गुज्रिरहेका बेला निजी क्षेत्रले दैनिक २ अर्ब नोक्सानी बेहोर्नु परेको बताए । चार महिनादेखिको बन्दहडताल तथा पछिल्लो समयको नाकाबन्दीले निजी क्षेत्रको २० हजार करोड नोक्सानी भएको उनले बताए ।

‘चार महिनादेखि तराईमा उद्योग बन्द छन् ।’ हजारौं मालवहाक गाडी सीमा नाकामा थन्किएका छन् ।’अध्यक्ष मुरारकाले भने,‘बन्दहडताल, नाकाबन्दी भएको लामो समय वितिसक्दा पनि सरकारले कुनै पहल गर्न सकेको छैन् ।’

आफ्ना हकअधिकारका लागि अरुको अधिकारको हनन् नगर्न माग गर्दै अध्यक्ष मुरारकाले भने,‘तपाईहरूको बन्दहडतालका कारण उद्योगले उत्पादन गर्न सकेका छैनन । उत्पादित सामग्री बजार पुर्याउन सकिएको छैन ।’

बन्दहडताल र आन्दोलनबाट देशको विकास नहुने उल्लेख गर्दै अध्यक्ष मुरारकाले भारतसँग मात्रा व्यापार नाका खोल्दा समस्या भएकाले चीनसँगको नाका पनि खोल्नु पर्ने बताए ।
‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ शुरु भएको महोत्सव पुस २ गतेसम्म चल्नेछ ।

आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले प्रमुख अतिथि मुरारकालाई १८ बुंदे माग पत्रसहित १८ किलोग्रामको माला पहिराएका थिए ।

२०६३ सालदेखि सुरू गरिएको धनगढीमा सुदूरपश्चिम महोत्सवको यो १० औं संस्करण हो । २०६३ मा २१ बुँदे माग मध्य गेटा विमानस्थल धावनमार्ग कालो पत्रे, अप्टीकल फाइवर बिस्तार, सुदूरपश्चिम विश्वविद्यालय स्थापना, छैठौ राष्ट्रिय खेलकुद आयोजना तथा रंगशाला निर्माण र आइसीयू स्थापना भइसकेको छ । सेती अञ्चल अस्पतालमा आइसीयूको औपचारिक उद्घाटन नभए पनि सेवा शुरू भइसेकेको छ । थप गरिएका समेत १८ माग कार्यान्वयन हुन बाँकी छन् ।

अध्यक्ष बोगटीले सुदूरपश्चिमलाई चीनसँग जोड्ने नाका खुलाउनु पर्ने, सेती हाईड्रो पावर निर्माण, क्षेत्रीय पर्यटन केन्द्रको स्थापना, औद्योगिक क्षेत्र र विशेष औद्योगिक प्याकेज, जडीबुटी प्रशोधन केन्द्र, सित गृह स्थापना, दुग्ध प्रशोधन केन्द्र र सुदूरपश्चिमलाई लोडसेडिङ मुक्त गराउनु पर्ने, गेटा विमानस्थललाई वैकल्पिक अन्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गराउनु पर्ने लगायतका माग राखिएका छन् ।

यस वर्षको महोत्सव सञ्चालनमा करिब ७० लाख रुपैयाँ खर्च हुने तथा महोत्सव अवधि भरि करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेको अध्यक्ष बोगटीले बताए ।

प्रदर्शनी स्थल र स्मार्ट सिटीका लागि अभियान
मंगलबारदेखि शुरू भएको सुदूरपश्चिम महोत्सवमा प्रदर्शनीस्थल निर्माण र धनगढीलाई स्मार्ट सिटी बनाउन अभियान संचालन गरिएको छ । ‘यस वर्ष महोत्सबाट धनगढीमा प्रदर्शनी स्थल निर्माण र धनगढीलाई स्मार्ट सिटी निर्माणका लागि अभियान संचालनका लागि सहयोग गरिने छ ।’ कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले भने, ‘त्यसका लागि टिकट विक्री भएको रकम मध्ये केही सहयोग गरिने छ ।’

अध्यक्ष बोगटीका अनुसार प्रति टिकटबाट एक रुपैयाँ प्रदर्शनी स्थल निर्माण र एक रुपैया धनगढी स्मार्ट सिटी अभियानका लागि सहयोग गरिनेछ । संघले गत वर्ष सेती अंचल अस्पतालमा आइसीयु स्थापनाका लागि प्रति टिकट दुई रुपैयाँ सहयोग गरेको थियो भने रकम समेत संकलन गरेको थियो । ‘यो रकम ठूलो होइन । अभियानमा सहभागि भएका हौं’ उनले भने ।

‘धनगढीमा सार्वजनिक कार्यक्रम गर्न स्थलको अभाव छ ।’ राजघाटस्थित मोहना नदी किनारमा जग्गा हेरेका छौं ।’ अध्यक्ष बोगटीले भने, ‘उक्त स्थानमा प्रदर्शनी स्थल निर्माणका लागि सर्वदलीय, सर्वपक्षीय छलफल गर्नेछौं ।’

महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ४० रुपैयाँ, साधारण टिकट ५० र सिजनल टिकट ४ सय रुपैयाँ रहेको छ ।


  •  
  •  
  •