कार्यतालिका नै नबनाई लेखिदैछ संविधान

81
  •  
  •  
  •  

काठमाडौं,  ३१ जेठ (ओएनएस) : संविधान लेखन कार्यतालिका नैं नबनाई संविधान लेखन कार्य अघि बढाउने तयारी भएको छ । विगतमा बनाएका कुनैपनि कार्यातालिका कार्यान्वयन नहुँदा संविधान लेखनको कामले पूर्णता पाउन नसकेका कारण यसपटक कार्यतालिका नबनाइ काम गर्ने तयारी भएको हो ।

‘सधै कार्यतालिका बनाउने तर, कार्यान्वयन नहुने समस्या देखिएको छ’ सभाध्यक्ष सुवास नेम्बाङले भने, ‘त्यसैले केही दिनभित्रै दलहरुसँग परामर्श गरेर संविधान जारी गर्ने अन्तिम मितिको गृहकार्य गरी त्यसै अनुरुप काम अघि बढाउने प्रयासमा छु ।’

सभाध्यक्ष नेम्बाङले यसअघि पनि दलहरुसँग सामान्य छलफल भइसकेको भन्दै अब थप छलफल गरेर संविधान जारी गर्ने अन्तिम मितिका विषयमा सैद्धान्तिक निर्णयमा अघि बढ्न आग्रह गर्ने बताए ।

बिनाकार्यतालिका कसरी काम गर्छ त संविधानसभाले ? भन्ने प्रश्नमा सभाध्यक्ष नेम्बाङले कार्यतालिका बनाएर प्रभावित भएमा संविधान लेखनको कार्य प्रभावित हुने भन्दै जे काम अगाडी आउछ त्यही कामका लागि तत्कालिन कार्यतालिका बनाएर अघि बढ्ने बताए ।

संविधान मस्यौदा निर्माणका लागि अहिले १५ दिनको समयावधि तोकिए जस्तै त्यसपछिका काम पनि तत्काल सयम तोकेर संविधानसभाले अघि बढाउने छ ।

यस्तै जनतामा जाने दिनका विषयमा पनि संविधान मस्यौदा आएपछि दलहरुबीचको सहमतिमा निर्धारण हुने छ । ‘संविधान मस्यौदा लिएर जनतामा कति दिनको समय राखेर जाने भन्ने विषयमा दलहरुले सैद्धान्तिक निर्णय गर्नुपर्छ’ नेम्बाङले भने, ‘त्यसकै आधारमा संविधान जारी गर्ने अन्तिम मिति पनि निर्धारण हुन्छ ।’


  •  
  •  
  •