विप्लव काफ्ले
चितवन, २२ वैशाख (ओएनएस) : जिल्ला कृषि विकास कार्यलय चितवनले मान्यता प्राप्त बिउबिजन केन्द्रवाट मात्रै बिउ छनौट गर्न कृषकहरुलाई आग्रह गरेको छ ।
वर्षे धानको बिउ राख्ने समय सुरु हुन लागेकाले कृषि विशेषज्ञको परामर्श लिएर ब्याड निर्माण गरिए उत्पादनमा वृद्धि गर्न सकिने तर्फ समेत कृषकलाई सचेत पारेका छ । चितवनमा २९ हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको पाइन्छ ।
कृषि विकास कार्यलय चितवनका प्रमुख राजाराम अधिकारीले यस वर्ष कृषकलाई धानका उन्नत जातका बिउमा २० देखि ३५ प्रतिशतसम्म अनुदान दिने व्यवस्था मिलाउन थालिएको जानकारी दिए । उनले कार्यविधि निर्माण हुनासाथ यहि साताभित्र कृषकहरुलाई धानको विउमा समेत अनुदान दिन सुरु गरिने बताए ।
पूर्वी चितवनका जुटपानी, पिठुवा, पिप्ले, भण्डारा, कठार, बछौली एवम् पश्चिम चितवनका गीतानगर, दिव्यनगर, शारदानगर र माडी क्षेत्रमा बढी धान उत्पादन हुने गरेको कार्यालयले जनाएको छ ।
गुणस्तरीय बिउमात्रै छनौट गर्न सकिएपनि साबिकको भन्दा २० प्रतिशत भन्दा बढी उत्पादन हुनसक्ने कृषि विशेषज्ञले बताएका छन् । चितवनमा मान्यता प्राप्त बिउबिजन बिक्रि गर्ने १ सय २८ वटा एग्रोभेट, सप्लार्यसहरु रहेका छन् ।