बुढ्यौलीमा पनि तरुनी

509
  •  
  •  
  •  

Martha-Stewartt

नेपाली समाजमा केटी (महिला पनि) को उमेर नसोध्नु भनिन्छ । त्यसले प्रायश: केटीको उमेर अनुमान गर्नुपर्ने हुन्छ । धेरैजसो मानिस सामान्यतया उमेरअनुसार नै जवान तथा वृद्ध देखिन्छन् । नि:सन्देह सबै मानिस आफ्नो वास्तविक उमेरभन्दा कम देखिन चाहन्छन् । प्रकृतिको देन अथवा दैनिक क्रियाकलापको परिणामस्वरूप केही मानिस उमेरभन्दा निकै कमका पनि देखिन्छन् । केही त्यस्ता चर्चित व्यक्तित्व पनि छन्, जो आफ्नो वास्तविक उमेरभन्दा कमसेकम एक दशक कम देखिन्छन् । त्यस्ता दश महिला :  

जेनिफर टिले

क्यानेडियन–अमेरिकी नायिका तथा तास खेलकी च्याम्पियन टिलेको उमेर ५५ वर्ष भइसक्यो, तर उनी कम उमेरकी देखिन्छिन् । उमेरभन्दा कम देखिन कुनै सर्जरी वा उपचारबारे उनी मौन रहने गरेकी छिन् । आफ्ना साथीले कसरी फिट देखिएकी भनेर सोध्दा उनी यो सबै क्यामेराको कमाल हो भनेर जवाफ दिने गर्छिन् । ‘द सिम्पसन्स्’का निर्माता श्याम सिमोनसँग सात वर्ष वैवाहिक जीवन बिताएकी टिले हाल पोकर खेलाडी फिल लाकसँग सम्बन्धमा छिन् ।

मार्था स्टेवार्ट  
७३ वर्षीया अमेरिकी व्यवसायी, लेखक र टेलिभिजन प्रस्तोता मार्था स्टेवार्ट लाइफस्टाइल गुरु पनि हुन् । पूर्वमोडेल मार्थाले आफ्नै नाममा प्रकाशन, प्रसारणलगायत व्यवसाय गर्छिन् । कैयन बेस्टसेलर किताबकी लेखिका पनि रहेकी यिनी आफ्नै नामको पत्रिका पनि प्रकाशित गर्छिन् । उनले ४० कटेकाहरूका लागि उपयोगी हुने ‘लिभिंग द गुड लंग लाइफ’ पुस्तक प्रकाशित गरेर आफ्नो ‘ब्युटी टिप्स’ उल्लेख गरेकी छिन् ।

जेन फोन्डा
यिनको तस्बिर हेर्दा उमेर अनुमान गर्न निकै कठिन पर्छ । हो, यिनी ७६ वर्षकी भइसकिन् । कैयौँ उपाधि जितेकी नायिका तथा पूर्वफिट्नेस गुरु फोन्डा स्वस्थ जीवनको वकालत गर्ने अगुवा पनि हुन् । तथापि, यिनीले केहीपटक प्लास्टिक सर्जरी गरेको स्वीकार गरेकी छिन् ।

यिनी तीनपटक डिभोर्स, चरम निराशा तथा स्तन क्यान्सरबाट गुज्रिसकेकी छिन् । उनले यसअघि आफ्ना बाल्यवस्थाका भावनात्मक चोटहरूबाट उपचार गर्नका लागि आहार, शारीरिक अभ्यास तथा प्लास्टिक सर्जरीको सहारा लिएको बताएकी थिइन् । तथापि, अरूलाई स्वस्थ मनोदृष्टि राख्न सल्लाह दिँदै आएकी छिन् । भन्छिन्, ‘तिमी खुसी छौ भने तिम्रो जीवनकोअर्थ रहन्छ ।’

जेनिफर लोपेज
अमेरिकी नायिका तथा गायिका जेनिफर लोपेज पनि उमेरभन्दा कम देखिनेमा अग्रणी छिन् । ४५ वर्ष उमेर पार गरिसक्दा पनि यिनी ३५ वर्षवरिपरिकी देखिन्छिन् । २००८ मा जुम्ल्याहा सन्तानलाई जन्म दिएकी लोपेजले तीनपटक बिहे गरिसकेकी छिन् । उनी यति फिट रहनुमा गुल्कोजमुक्त खासगरी शाकाहारी खाना र दैनिक ९० मिनेटको शारीरिक अभ्यासको भूमिका भएको बताउँछिन् ।

लोपेजले हालै मात्र ‘बुटी’ नामको गीत तथा त्यसको भिडियो सार्वजनिक गरेकी छिन् । २४ वर्षीया र्‍यापर लेगी अजालियसँग खिचिएको उक्त कामुक भिडियोमा उनी आफ्नो उमेरभन्दा निकै कमकी लाग्छिन् ।

अप्सरा होगंसाकुला  
यिनको उमेर ६७ भइसकेको छ । थाइल्यान्डकी अप्सराले पहिलो मिस युनिभर्सको उपाधि जितेको नै ५२ वर्ष भइसकेको छ । सन् १९६५ मा यो उपाधि जितेकी उनले एक वर्षअघि मात्र मिस थाइल्यान्डको उपाधि जितेकी थिइन् । त्यसवेलादेखि उनी खासै मिडियामा आइनन्, तर उनको उल्लेखनीय यौवनाका कारण फेरि चर्चामा आएकी छिन् । हालै सार्वजनिक भएको उनको फोटोमा उनी ५०–५५ जत्तिकी देखिन्छिन् । उनको फोटोलाई कम्प्युटरबाट मिलाइएको पनि बताइन्छ । तर, यसै वर्ष बाहिर आएको उनको भिडियोमा पनि उनी निकै कमकी देखिन्छिन् । केहीले उनले प्लास्टिक सर्जरी गरेको अनुमान गरे पनि केहीले भने उनको अनुहार प्राकृतिक नै देखिएको दाबी गर्छन् । उनी ब्युटी स्लिमिंग स्पा चलाउँछिन् ।

एले म्याकफेरसन
यही वर्षको गर्मीमा ५० वर्षीया सुपर मोडेल एले म्याकफेरसन बिकिनीमा देखिइन्, तब धेरै अचम्मित भए । उनी कमकेकम १५ वर्ष कम देखिन्थिन् । ११ वर्षअघि रक्सी छोडेकी एलेचाहिँ आफू कस्तो देखिन्छु भन्दा कस्तो महसुस गर्छु भन्नेमा विश्वास गर्ने बताउँछिन् ।

दुई बच्चाकी आमा एले एकजना डाक्टरसँग मिलेर ‘सुपर एलिक्सर’ नामको पेय पदार्थ निर्माण गर्छिन् । आफ्नो शरीरको फिट्नेसमा यही पेय पदार्थको भूमिका रहेको बताउने गर्छिन् । लन्डनकी यी मोडेल उमेरभन्दा कम देखिनुमा सही तरिकाले खाने तथा उपयुक्त शारीरिक अभ्यासको पनि भूमिका रहेको बताउँछिन् ।

क्रिस्टिन ब्रिन्क्ले
पूर्वसुपरमोडेल क्रिस्टिन ब्रिन्क्ले यसै वर्षको फेब्रुअरीमा ६० वर्षमा टेकिन् । तर, उनी ४० वरिपरिकी देखिन्छिन् । यो उमेरमा उनी पौडी खेल्ने पोसाक लगाएर पिपल म्यागजिनमा देखिएकी थिइन् । उथलपुथलपूर्व जीवन बाँचेकी तीन सन्तानकी आमा ब्रिन्क्लेको चारपटक डिभोर्स भइसकेको छ ।

पिपल म्यागजिनसँगको वार्तामा ब्रिन्क्लेले सही तरिकाले खाना खाने र काममा रमाइलो गर्दा जवान देखिने बताएकी छिन् । उनले त्यसका लागि पाँचवटा टिप्स पनि दिएकी छिन् ।

हेल बेरी
ओस्कार विजेता ४८ वर्षीया हलिउड अभिनेत्री हेल बेरी दुई सन्तानकी आमा हुन् । तीनपटक बिहे गरिसकेकी बेरी ओस्कार जित्ने पहिलो अफ्रो–अमेरिकी महिला पनि हुन् । सन् १९८६ मा मिस अमेरिकाकी उपविजेता भएकी बेरी कम उमेरको देखिनुमा स्किनकेयरको ठूलो भूमिका रहेको बताउँछिन् । भन्छिन्, ‘१४ वर्षको उमेरदेखि नै मैले छालाको अधिक स्याहार गर्दै आएकी छु ।’
डायबिटिज रोग लागेकी बेरी शारीरिक प्रणाली र छाला दुवैका लागि चिनी विष भएको बताउँछिन् । आफ्नी छोरीलाई पनि चिनी खान नदिने बेरी सानो उमेरदेखि नै सही भोजन गर्दा छाला राम्रो बनाउन र उमेरलाई नियन्त्रणमा राख्न सकिने धारणा राख्छिन् ।

 मिमी किर्क
शाकाहारी भोजनकी अभियन्ता अमेरिकाकी मिमी किर्कको उमेर ७५ भइसक्यो, तर यिनी निकै कम उमेरकी देखिन्छिन् । यसै वर्षको अप्रिलमा अमेरिकाको ‘स्टिभ हार्भे सो’मा धेरैले यिनको उमेर अन्दाज गर्दा ५० को हाराहारीमा रहेको अनुमान गरेका थिए । जब यिनले आफ्नो वास्तविक उमेर भनिन्, तब दर्शकको मुख केहीबेरसम्म खुल्ला भइरह्यो ।

अमेरिकाको ‘५० कटेकी कामुक शाकाहारी’ उपाधि जितेकी मिमी कच्चा खानाको वकालत गर्ने गर्छिन् । ‘लाइभ र’ पुस्तक लेखेकी मिमी पर्याप्त घामको ताप, हरेक दिन व्यायाम तथा पर्याप्त निद्राले उमेरभन्दा कम देखिन मद्दत गर्ने बताउँछिन् ।

अर्नेस्टाइन सेपार्ड
बडिबिल्डर सेपार्ड ७७ वर्षकी भइसकिन् । सेपार्ड उमेरले ५० को नेटो काटेपछि फिट्नेस यात्रा सुरु गरेकी हुन् । पौडी खेल्ने पोसाक लगाउने क्रममा ऐनाअगाडि उभिँदा आफैँप्रति चित्त नबुझेपछि उनले फिट्नेस सेन्टर जाने योजना बनाएकी थिइन् । उनलाई उनकी बहिनीले साथ दिइन् । उनीहरूले एरोविक अभ्यास गर्न थाले ।

बिस्तारै उनी बडिबिल्डिङ गर्न थालिन् । उनले दुईवटा बलिबिल्डिङका उपाधि जितिसकेकी छिन् भने नौवटा म्याराथनमा भाग लिइसकेकी छिन् । बिहान साढे दुई बजे उठेर शारीरिक अभ्यास गर्ने सेपार्ड हप्तामा ८० माइल दौडिन्छिन् । सेपार्डले सन् २०१० मा गिनिज रेकर्ड राखेकी थिइन् ।

नयाँपत्रिकाबाट


  •  
  •  
  •