प्रतिस्पर्धाबाट शिक्षक नियुक्तिको तयारी

442
  •  
  •  
  •  

काठमाडौं, २९ चैत : अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन निर्धारण गरिएको परीक्षा चार पटकसम्म स्थगन भएपछि शिक्षा मन्त्रालयले अस्थायीका मुद्दा थाती राखेर पहिलो चरणमा खुला प्रतिस्पर्धाबाटै शिक्षक नियुक्ति गर्ने तयारी गरेको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यसबारे आन्तरिक तयारी भइरहेको बताएका छन्।

शिक्षा ऐनको आठौं र नवौं संशोधनको प्रावधानअनुसार शिक्षक सेवा आयोगले आन्तरिक प्रतिस्पर्धाबाट नियुक्तिका लागि यही चैत २३ गतेलाई परीक्षा तोकेको थियो। आन्तरिक प्रतिस्पर्धाको प्रावधान खारेजी गरिनुपर्छ भन्ने विद्यार्थीको समूह र आन्तरिक प्रतिस्पर्धामा सबै अस्थायी शिक्षकलाई सहभागी गराउनुपर्छ भन्ने अस्थायी शिक्षकका एक समूहका दबाबका कारण सो मितिको परीक्षा स्थगन गरिएको थियो। चैत २३ अघि पनि अस्थायी शिक्षकका लागि तीन पटक परीक्षाको मिति तोकिएको थियो।

तर, शिक्षक आन्दोलनलगायत समस्याका कारण ती सबै मितिको परीक्षा स्थगन भएको थियो। अहिले आन्तरिक प्रतिस्पर्धामा सहभागी हुन १६ हजार शिक्षक तयारी अवस्थामा छन् भने खुला प्रतिस्पर्धामा सहभागी भएर शिक्षण पेसामा सहभागी हुन शिक्षण अनुमति (लाइसेन्स) लिएर बसेका विद्यार्थी सात लाख हाराहारीमा छन्। फरक–फरक समूहका शिक्षक र विद्यार्थी आआफ्नै माग राखेर आमरण अनशनमा बस्न थालेपछि मन्त्रालयले अस्थायीलाई आन्तरिक प्रतिस्पर्धा नगराई नयाँ पुस्ताका विद्यार्थी र अस्थायी शिक्षकलाई पनि परीक्षामा सहभागी हुने सुनिश्चितता गराएर खुला प्रतिस्पर्धामा सहभागी गराउन लागेको हो।

खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट भएपछि मात्र अस्थायीलाई आन्तरिक प्रतिस्पर्धा गराउनेगरी काम अघि बढाइएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए। ‘आन्तरिक वा खुला जुन माध्यमबाट आएपछि शिक्षकहरू क्षमतावान् हुनुपर्छ। पढाउन नसक्ने शिक्षकलाई परीक्षामा उत्तीर्ण गराइँदैनँ,’ पोखरेलले राजधानीमा आयोजित एक कार्यक्रममा भने।

चैत २३ अघि पनि अस्थायी शिक्षकका लागि तीन पटक परीक्षाको मिति तोकिएको थियो।

शिक्षक नियुक्तिका लागि परीक्षा सञ्चालन गर्ने जिम्मेवारी पाएको शिक्षक सेवा आयोगसँग भने पोखरेलले यसबारे छलफल गरेका छैनन्। ‘शिक्षामन्त्रीसँग यसबारे कुरा हुन पाएको छैन। केही दिनपछि आयोगको सम्पूर्ण संरचना र अवस्थाबारे छलफल हुँदै छ। त्यही शिक्षकका परीक्षाका विषयमा पनि छलफल होला,’ आयोग अध्यक्ष ताना गौतमले भने। तर, खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्तिका लागि हाल रहेको कानुनी प्रावधानमै परिवर्तन गर्नुपर्ने हुन्छ।

शिक्षा ऐन संशोधन भएसँगै कक्षा एकदेखि आठसम्म आधारभूत र कक्षा नौदेखि १२ सम्म माध्यमिक तह बनेको छ। यसअघि आयोगले कक्षा पाँचसम्मलाई प्राथमिक मानेर शिक्षक नियुक्ति गर्दा न्यूनतम एसएलसी परीक्षा उत्तीर्ण भएका व्यक्ति प्रतिस्पर्धामा सहभागी हुन पाउँथे। स्नातक तह उत्तीर्ण गरेका व्यक्तिले १० कक्षासम्म पढाउने गरी माध्यमिक तहमा प्रतिस्पर्धा गर्न पाउँथे।

अहिले कक्षा ११ र १२ पनि माध्यमिक तहमै गाभिएपछि त्यहाँ पढाउने शिक्षकको योग्यता कति हुने भन्नेबारे कानुनी प्रावधान तोकिनु आवश्यक छ। ‘स्नातकोत्तर तहसम्मको उपाधि हासिल गरेका शिक्षकलाई माध्यमिक तह पढाउन योग्य मान्ने हो भने पनि शिक्षक सेवा आयोगको ऐन कानुनमै परिवर्तन गर्नुपर्छ’, गौतमले भने, ‘यो तत्काल सम्भव छैन। कानुनी प्रक्रिया पूरा गर्न पनि समय लाग्छ।’

पछिल्लो पटक आह्वान गरिएको शिक्षक विज्ञापनअनुसार कुल २२ हजार ७६ अस्थायी शिक्षक कोटामध्ये ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाका लागि २३ हजार दुई सय ८६ जनाले आवेदन दिएका थिए। अन्नपुर्ण पाेष्ट


  •  
  •  
  •