नियोग कर्मचारीलाई मनपरी भत्ता

136
  •  
  •  
  •  

काठमाडौ, १ भदौ : विदेशस्थित विभिन्न नेपाली नियोगमा कार्यरत कूटनीतिक कर्मचारीले बितेको ५ वर्षमा नियमविपरीत साढे ४२ करोड रुपैयाँ पारिवारिक भत्ता बुझेका छन्। कूटनीतिक नियोग प्रमुखलगायतले परिवार साथमा रहेको पुष्टिबेगर तथा परिवार सदस्य नै नलगी उनीहरूका नाममा भत्ता लिएका हुन्।

कूटनीतिक नियोग प्रमुख र कूटनीतिक कर्मचारीले बिनाआधार बुझ्दै आएको रकमलाई महालेखा परीक्षकको कार्यालयले आर्थिक अनियमितता भन्दै आएको छ। महालेखाले यसरी भत्ता बुझ्ने कूटनीतिक कर्मचारीलाई कारबाही गर्न बर्सेनि सिफारिस गर्दै आएको छ। तर पुष्टिबिनै तथा परिवार सदस्य साथमै नलगी उनीहरूका नाममा पारिवारिक भत्ता, स्वास्थ्य बीमा र औषधिउपचार खर्च सुविधावापतको रकम लिने क्रम रोकिएको छैन।

मनोमानी तरिकाले रकम निकासा गर्ने कार्यलाई रोक्नुपर्नेमा परराष्ट्र मन्त्रालयले अहिले झन् थप दुइटा नेपाली नियोगमा कार्यरत कूटनीतिक कर्मचारीका आश्रित परिवारका सदस्यहरू साथमा नरहे पनि पारिवारिक भत्ता, शैक्षिक भत्ता, स्वास्थ्य बिमा र औषधिउपचार खर्च सुविधा प्रदान गर्ने प्रक्रिया अघि बढाएको छ।

परराष्ट्रले चीनको ल्हासा र साउदी अरबको रियादस्थित नेपाली नियोगहरूमा कार्यरत नियोग प्रमुखलगायत अन्य कूटनीतिक कर्मचारीका आश्रित परिवारका सदस्यहरू साथमा नरहे पनि कर्मचारीलाई पारिवारिक भत्ता, शैक्षिक भत्ता, स्वास्थ्य बिमा र औषधिउपचार खर्च सुविधा प्रदान गर्ने प्रस्ताव अहिले मन्त्रिपरिषदमा पुगेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले परराष्ट्रको प्रस्ताव मन्त्रिपरिषद, आर्थिक तथा पूर्वाधार समितिमा छलफलको लागि पठाइएको जानकारी दिए। ‘निर्णय हुन बाँकी छ,’ उनले भने।

यसअघि ल्हासा र रियादस्थित नियोगमा कार्यरत कूटनीतिक कर्मचारीलाई परिवार साथमा नलगे पनि मन्त्रिस्तरीय निर्णयका आधारमा सरकारले पारिवारिक भत्ता उपलब्ध गराउँदै आएको थियो।

कूटनीतिक कर्मचारीका आश्रित परिवारका निश्चित सदस्यलाई ‘पारिवारिक सुविधा’ (पारिवारिक भत्ता, शैक्षिक भत्ता, स्वास्थ्य बिमा र औषधोपचार खर्च) दिने प्रावधान छ। तर मन्त्री र सचिवस्तरीय पटके निर्णय गर्दै परराष्ट्रले विभिन्न नेपाली नियोगमा कार्यरत कूटनीतिक कर्मचारीलाई पुष्टिबेगर र परिवार सदस्य साथमै नलगेकालाई पनि सुविधा दिने गरिएको छ। महालेखाले भने परराष्ट्रमन्त्री र परराष्ट्रसचिवले गरेको निर्णयसमेत अवैध भन्दै आएको छ।

आर्थिक वर्ष २०७०/०७१ मा मात्र विभिन्न देशमा रहेका ३३ वटा नेपाली नियोगमा कार्यरत कूटनीतिक कर्मचारीले परिवार सदस्य साथमा रहेको प्रमाण पेस नगरी र परिवार सदस्य साथमै नलगी उनीहरूको नाममा ११ करोड ३० लाख ७१ हजार रुपैयाँ पारिवारिक भत्ता बुझेका थियो जसमध्ये ८ करोड ४६ लाख ७१ हजार रुपैयाँ प्रमाण पेस नगरी र २ करोड ८४ लाख रुपैयाँ परिवार नै नलगी बुझेका हुन्। ‘मन्त्री र सचिवस्तरीय निर्णयबाट पारिवारिक भत्ता दिन नमिल्ने भन्ने आएको छ, यस्तो रकम कसरी मिलाउने भन्ने विषयमा अहिले हामी छलफलमै छौं,’ पोखरेलले भने।

आर्थिक वर्ष २०६३/०६४ मा कूटनीतिक कर्मचारीले परिवार सदस्य साथमा रहेको प्रमाण पेस नगरी र परिवार सदस्य साथमै नलगी १ करोड १७ लाख ६० हजार रुपैयाँ बुझेको देखिन्छ। सात वर्षमा बिनाप्रमाण र परिवार सदस्यै नलगी पारिवारिक भत्ता बुझ्ने रकममा ८ सय ६१ प्रतिशतले वृद्धि भएको छ।

‘हामीले कसले कहाँ गल्ती गरेको छ देखाइदिने हो। कूटनीतिक कर्मचारीले बिनाप्रमाण र परिवार सदस्यै नलगी करोडौं रुपैयाँ सरकारी ढुकुटीबाट बुझ्दै आएको कुरा हामीले वर्षौदेखि उठाउँदै आएका छौं। यो रोक्न कसैको ध्यान गएको देखिँदैन,’ महालेखापरीक्षकको कार्यालयकाका प्रवत्ता बाबुराम गौतमले भने।

विभिन्न देशमा रहेका २४ वटा नियोगमा कार्यरत कूटनीतिक कर्मचारीले बिनाप्रमाण तथा परिवार सदस्य साथमै नलगी आर्थिक वर्ष २०६९/०७० मा प्रमाणबेगर ६ करोड ८ लाख १९ हजार रुपैयाँ र परिवार साथमा नलगी १ करोड ८१ लाख २१ हजार रुपैयाँ बुझेका थिए। सो रकम मन्त्री तथा सचिवको निर्णयका आधारमा भुक्तानी भएको थियो।

आर्थिक वर्ष २०६८/०६९ मा ७ करोड १९ लाख ७५ हजार रुपैयाँ प्रमाणबेगर र २ करोड २४ लाख ९७ हजार परिवारका सदस्य नलगी २९ वटा नियोगमा कार्यरत कूटनीतिक कर्मचारीले लिएका थिए। ‘यसरी रकम प्रदान गर्नु हुँदैन। दोषीलाई कारबाही गर्छन् कि भनी प्रत्येक वर्ष हामी यस्ता मुद्दा उठाउँछौं तर न त संसदको लेखा समितिले नै केही गर्छ न परराष्ट्र मन्त्रालयले नै,’ महालेखा परीक्षकको कार्यालयका सहायक प्रवक्ता त्रिलोचन आचार्यले भने।

कूटनीतिक कर्मचारीले आर्थिक वर्ष २०६७/०६८ मा बिनाप्रमाण ६ करोड ८३ लाख ५३ हजार र परिवारका सदस्य नलगी १३ लाख पारिवारिक भत्ता बुझेको देखिन्छ। आर्थिक वर्ष २०६६/०६७ मा बिनाप्रमाण र परिवार सदस्य नलगी ६ करोड ८६ लाख ७३ हजार रुपैयाँ बुझेका छन्।
– नागरिक दैनिकबाट


  •  
  •  
  •